काठमाडौं : जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ ।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामै रहेका व्यक्तिलाई अर्को सूचना प्रकाशित नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो ।
प्रशासनका अनुसार २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका-४ नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो ।
बाढीका कारण पदमार्ग, होटेल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको जनाइएको छ। प्रभावित क्षेत्रको विस्तृत क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।
बाढीले चुमनुव्री गाउँपालिका-४ र वडा नम्बर २ जोड्ने फलामे पुल बगाएको छ । त्यस्तै, घापबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बाढीले बगाएको प्रशासनले जनाएको छ ।
पुल र पदमार्गमा क्षति पुगेपछि मनास्लु तथा लार्केपास क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको हो । प्रशासनले पदयात्री, पर्यटन व्यवसायी, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई अर्को सूचना जारी नभएसम्म प्रशासनको आग्रह पालना गर्न भनेको छ ।


