नेपाल न्युज प्वाइन्ट डटकम
बाढीपीडितका लागि ब्याट–३६ को आर्थिक सहयोग

काठमाडौं : भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले ब्याट–३६ परिवारले कुल ३ लाख ३४ हजार ८१४ रुपैयाँ सहयोग जुटाएको छ। समूहले सामूहिक रूपमा राहत संकलन अभियान सञ्चालन गर्दा सदस्यहरूबाट १ लाख ९१ हजार ३१३ रुपैयाँ संकलन भएको जनाएको छ।

यससँगै केही सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै १ लाख ४३ हजार ५०१ रुपैयाँ जम्मा गरेका छन्। दुवै रकम जोड्दा ब्याट–३६ परिवारका तर्फबाट कुल सहयोग ३ लाख ३४ हजार ८१४ रुपैयाँ पुगेको हो। समूहका अनुसार यसअघि व्यक्तिगत रूपमा गरिएको सहयोग भने उक्त कुल रकममा समावेश गरिएको छैन।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। यही अवस्थालाई मध्यनजर गर्दै ब्याट–३६ परिवारले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत सहयोगको पहल गरेको हो।

बाढीले घर, सडक र पुलजस्ता पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै मानवीय क्षति पनि भएको उल्लेख गर्दै समूहले विपद्को पीडा नजिकबाट महसुस गरेको जनाएको छ। साथै, प्रशासन सेवासँग सम्बन्धित केही व्यक्तिको ज्यान गएको र केही सदस्यले आफ्ना आफन्त गुमाएको दुःखद पक्ष पनि समूहले सार्वजनिक गरेको छ।

देशका विभिन्न स्थानमा प्रशासनिक जिम्मेवारीमा रहेका सदस्यहरू घटनास्थलमा प्रत्यक्ष उपस्थित हुन नसके पनि आ–आफ्नो क्षमताअनुसार सहयोगमा जुटेको समूहले जनाएको छ।

ब्याट–३६ परिवारले यस सहयोगलाई प्रचारका रूपमा नभई विपद्को घडीमा मानवीयता, सहानुभूति र सामाजिक जिम्मेवारीको अभिव्यक्ति भएको स्पष्ट पारेको छ। संकलित रकमले पीडितका तत्काल आवश्यकतामा सहयोग पुग्ने र घरबारविहीन बनेकाहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update