नेपाल न्युज प्वाइन्ट डटकम
थेराङ खोलासहित बुढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति

गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट  चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीय लाक्पा डुण्डुप लामाले जानकारी दिए । 

थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बुढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जंगलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पार्‍यो”, उनले भने, “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।” 

साथै स्थानीयले उपभोग गर्दै आएका दुईवटा लघुजलविद्युत् आयोजनामा  क्षति पुर्‍याएको उनले बताए । उनले भने, “एउटा भर्खर सात करोड रुपैयाँ खर्चेर निर्माण सम्पन्न भएर परीक्षण प्रसारण भएको १०० किलोवाटको जलविद्युत् थियो त्यो पनि लग्यो । अर्को पहिल्यैदेखि बालिरहेको २२ किलोवाटको जलविद्युत् थियो त्यो पनि नामेट पारेर लग्यो । आवातजावत र विद्युत ठप्प हुँदा जनजीवन समस्यामा परेको छ ।”

विद्युत नहुँदा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट चल्ने सबै सेवा ठप्प भएको छ । पुल बगाएपछि भर्खर सुरु हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित भएको छ । लार्केपासका लागि गएका सयौं पर्यटक बुढीगण्डकीको पुल नहुँदा समस्यामा परेका छन् । पहिरोसँगै आएको बाढीले राति स्थानीय चारजनाको घर बगाएको प्रहरीले जनाएको छ । बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छयोदेन, लाक्पा भुटी र मिङ्मार लामाको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

“भूकम्प आएजस्तो गरी गाउँ थर्काएछ । सबै बिउँझिएछन् । अनि बाढी आएको थाहा पाएपछि भागेर ज्यान जोगाएका रहेछन्,” वडाअध्यक्ष पेमाग्याल्बो लामाले भने, “नत्र सबैलाई बढारेर लैजान्थ्यो ।”

बाढीपीडित चार घरलाई तत्काल अल्पकालीन राहत दिने लामाले बताए । “घरको केही पनि जोगिएन त्यसैले तत्काल आज नै खाद्यान्न र लुगा कपडाका लागि रु २० हजारका दरले राहत दिन्छौं”, उनले भने, “केही दिनमा गाउँपालिकाका तर्फबाट रु एक लाख बराबरको राहत दिनेछौं,” अन्यत्रबाट आउने राहतका लागि पनि पहल गर्ने उनले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update