नेपाल न्युज प्वाइन्ट डटकम
ई–जिपी प्रणाली स्थगन, हार्डकपीबाट टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (ई–जिपी प्रणाली) अस्थायी रूपमा बन्द गरेको छ । प्रणालीमा सुरक्षा जोखिम देखिएपछि मर्मत तथा सुधारका लागि भदौ ११ गतेदेखि ई–जिपी प्रणाली बन्द गरिएको हो । 

कार्यालयले अर्को सूचना जारी नभएसम्म ई–जिपी प्रयोग नगर्न सार्वजनिक निकायलाई जानकारी गराएको छ ।

कार्यालयका कम्प्युटर अधिकृत्त निर्मल लामाले सूचना निकालेर भनेका छन्, ‘हाल सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम उच्च रहेको देखिन आएकाले प्रणालीको मर्मतसम्भार र सुधार कार्य भइरहेको हुँदा अर्को सूचना जारी नभएसम्म तपसिल बमोजिम हुने गरी प्रणाली स्थगन गरिएको व्यहोरा सम्वन्धित सरोकारवाला सबैमा जानकारीका लागि यस कार्यालयको मिति २०८३/०५/११ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।’ 

ई–जिपी बन्द भएपछि नयाँ तथा जारी रहेका केही खरिद प्रक्रिया प्रभावित हुने भएकाले कार्यालयले वैकल्पिक व्यवस्था गरेको छ । भदौ ११ गतेसम्म प्रकाशित भएर प्रस्ताव बुझाउने म्याद बाँकी रहेका टेन्डर, आशयपत्र र सिलबन्दी दरभाउपत्रको प्रक्रिया अब हार्डकपी अर्थात् कागजी रूपमा अघि बढाउन सकिनेछ ।

त्यसैगरी, ई–जिपी मा टेन्डर वा दरभाउपत्र खोलिसकिएको तर सम्बन्धित आपूर्तिकर्ता, बोलपत्रदाता वा परामर्शदाताको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेको अवस्थामा पनि कार्यालयले सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित सार्वजनिक निकायले अनुरोध गरेमा कार्यालयबाट त्यस्ता प्रस्ताव डाउनलोड गर्न आवश्यक सहजीकरण गरिनेछ ।

कार्यालयका अनुसार ई–जिपी प्रणालीमा देखिएको सुरक्षा जोखिम हटाउन मर्मत तथा सुधारको काम भइरहेको छ । प्रणालीलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
तर ई–जिपी कहिलेसम्म बन्द रहने भन्नेबारे कार्यालयले निश्चित मिति भने तोकेको छैन ।

139bdaa4-e97e-401e-9426-05d55ee3c065-1788181811.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update