नेपाल न्युज प्वाइन्ट डटकम
बाढीपीडितलाई राष्ट्रिय विज्ञापन संघको राहत सहयोग

काठमाडौं : रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्यासित बाढीबाट प्रभावित भई घरबारविहीन बनेका परिवारहरूका लागि राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले राहत सामग्री उपलब्ध गराएको छ।

नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका अत्यावश्यक सामग्रीहरू बालाजुमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो। उक्त सामग्री विदुर नगरपालिका–७ (तुप्चे, नुवाकोट) का वडा अध्यक्ष रबिन्द्र नेपालको संयोजकत्वमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदिप अधिकारीलाई बुझाइएको जनाइएको छ।

7c53bfe4-9583-40a7-9515-f0cc3a1e805a-768x432-1789130245.jpg
 

कार्यक्रममा बोल्दै नानका अध्यक्ष प्रदिप प्रसाद कोइरालाले प्राकृतिक विपद्को कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गरे। “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नानले आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

राहत हस्तान्तरण कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृत पन्थी, कोषाध्यक्ष अरुण अर्याल तथा कार्यसमिति सदस्य अदिप पाठक लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नानले प्रभावित क्षेत्रका लागि १५० थान झुल, ६२० थान जुत्ताचप्पल, १५० थान ब्ल्यांकेट तथा १५० सेट भाँडाकुडा (थाल, कचौरा, गिलास) हस्तान्तरण गरेको जनाएको छ।

राहत सामग्री ग्रहण गर्दै कविन्द्र अधिकारीले विपद्को कठिन अवस्थामा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै नानप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update