नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंमा ग्यास अभाव, लाइनमा उपभोक्ता

काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौं भित्रिने मुख्य सडक अवरुद्ध हुँदा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्तिमा असर परेको छ । खाद्यान्नको आयातमा भएको असन्तुलनको असर तत्काल नदेखिएपनि पहिल्यैदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव झनै चुलिएको छ । 

सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ। नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको भीड लागेको छ। काठमाडौं र आसपास रिफिल हुने गरी आयात हुने बुलेट आउन सकेका छैनन् । ग्यास अभाव काठमाडौंको मात्र समस्या होइन, प्रमुख सहरका ग्यास डिलरकहाँ अझै पनि लाइन घटेको छैन । 

राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास गरिरहेका छन्। सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ । ग्यासको मूल्य बढेको छ, माग पनि बढेको छ तर उपभोक्ताले बढी मूल्य तिर्न तयार हुँदासमेत सहजै ग्यास पाउने अवस्था छैन । कति उपभोक्ता मध्यरातमा लाइन लाग्न पुगेको पनि भेटिन्छ । जनजीवन असहज बनिरहँदा पनि सरकारले गम्भीर ढंगले यो समस्यालाई निलँदा दुई महिनादेखि चोकचोकमा लामो लाइन देखिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update