नेपाल न्युज प्वाइन्ट डटकम
चोभारस्थित बागमती नदीमा १३ वर्षीय बालक बेपत्ता, खोजतलास तीव्रता दिन पीडित परिवारको माग, कीर्तिपुर प्रहरीमा जाहेरी

काठमाडौं : कीर्तिपुर नगरपालिका–६ स्थित चोभार गणेश मन्दिर घाटमा मूर्ति विसर्जन गर्ने क्रममा बागमती नदीमा परी १३ वर्षीय बालक विकास कुमार यादव बेपत्ता भएका छन् । भदौ २१ गते दिउँसो ३ बजेतिर भएको उक्त घटनापछि बालकको हालसम्म पत्तो लाग्न सकेको छैन । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी दर्ता गर्दै पीडित परिवारले निष्पक्ष अनुसन्धान र तीव्रताका साथ खोजतलास गर्न सरकार तथा प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् ।

रौतहटको गरुडा नगरपालिका–५ महम्दपुर स्थायी घर भई हाल ललितपुर बस्दै आएका १३ वर्षीय विकास यादवलाई मूर्ति विसर्जन कार्यक्रमका लागि गाडीमा राखेर चोभार पुर्‍याइएको जाहेरी दरखास्तमा उल्लेख छ । अभिभावक वा संरक्षकको पूर्वस्वीकृति तथा मन्जुरीबिना बालकलाई कार्यक्रममा सहभागी गराई नदी किनारमा लगिएको पीडित पक्षको भनाइ छ ।

घटनास्थलमा बालकको लुगा, घडी र मोबाइल निकालिएको अवस्थामा भेटिएको र नदीको बहावमा परी बेपत्ता भएको जाहेरीमा जनाइएको छ । यता पीडित परिवारले घटनामा असर्फी राय यादवलगायतका व्यक्तिहरूको लापरबाही रहेको आरोप लगाउँदै प्रहरी प्रशासनबाट खोजतलासका लागि पर्याप्त सहयोग नभएको गुनासो गरेका छन् । प्रहरीले 'खोजतलास गर्दैछौं' भन्ने औपचारिक जबाफ मात्र दिएको तर प्रभावकारी उद्धार नगरेको भन्दै पीडित पक्षले खोजी कार्यमा तीव्रता दिन सरकारसँग जोडदार अपिल गरेका छन् ।

पीडित परिवारका तर्फबाट प्रहरी वृत्त कीर्तिपुरमा दर्ता गराइएको जाहेरीमा असर्फी राय यादव, उनका छोरा राम सेवक राय यादव तथा कोमन साहलगायतका व्यक्तिहरूलाई विपक्षी बनाइएको छ । जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को लापरवाही तथा हेलचक्र्याइँ गरी ज्यान जोखिममा पार्ने र अभिभावकको मन्जुरीविना नाबालकलाई लैजानेसम्बन्धी कानूनी व्यवस्था (दफा १८१, १८२, २११, २१२, २१३ आदि) अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

यस्तै, घटनाको समयमा करिब ३० देखि ३५ जना सहभागी रहेकाले प्रत्यक्षदर्शीहरूको तत्काल बयान लिन, कल डिटेल, फोटो तथा भिडियो फुटेजको प्राविधिक विश्लेषण गरी निष्पक्ष अनुसन्धान गर्न जाहेरीमा अनुरोध गरिएको छ ।

प्रहरी तथा स्थानीय उद्धार टोलीले घटनालगत्तैदेखि बागमती नदी आसपास तथा सम्भावित क्षेत्रहरूमा खोजतलास गरे तापनि बालक हालसम्म फेला पर्न सकेका छैनन् । घटना भवितव्य वा दुर्घटना मात्र हो अथवा अन्य कुनै आपराधिक तत्व वा लापरवाही संलग्न छ भन्नेबारे यकिन गर्न प्रहरीले प्राविधिक विश्लेषण तथा प्रत्यक्षदर्शीका बयानका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update