नेपाल न्युज प्वाइन्ट डटकम
जेनजी आन्दोलनको एक वर्ष : सडकमा बगेको रगत र परिवर्तनको सपना

आज देशभर सार्वजनिक बिदा छ । सरकारी कार्यालयदेखि विद्यालयसम्मका ढोका बन्द छन् । तर यो बिदा केवल क्यालेन्डरमा रातो अक्षरले चिन्ह लगाइएको अर्को दिन होइन । यो एक वर्षअघि सडकमा पोखिएको आक्रोश, बगेको रगत, गुमेका जीवन र एउटा पुस्ताले देखेको परिवर्तनको सपनालाई सम्झिने दिन हो ।

सरकारले भदौ २३ लाई ‘जेनजी शहीद दिवस’का रूपमा सार्वजनिक बिदा दिएको छ । एक वर्षअघि यही दिन काठमाडौंसहित देशका विभिन्न ठाउँमा युवाहरू सडकमा थिए । सुरुमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध उठेको आवाज विस्तारै भ्रष्टाचार, नातावाद, बेरोजगारी, कमजोर सार्वजनिक सेवा, अवसरको असमानता र राज्य सञ्चालनको शैलीप्रतिको असन्तुष्टिमा परिणत भयो ।

त्यो आवाज केवल ‘जेनजी’को आवाज मात्र थिएन । त्यो आफ्नै देशमा भविष्य खोजिरहेका युवाको आवाज थियो । पढेर पनि अवसर नपाउने युवाको आवाज थियो । सामान्य सेवा लिन सरकारी कार्यालय धाउँदा हैरान हुने नागरिकको आवाज थियो । मेहनत गर्नेभन्दा पहुँच हुनेले अवसर पाउने अवस्थाप्रतिको आक्रोश थियो ।

तर त्यो आवाज सुन्ने र संवाद गर्ने ठाउँमा परिस्थिति हिंसातर्फ गयो । भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो । त्यसपछिको दिन देशका विभिन्न ठाउँमा प्रदर्शन र हिंसा फैलिँदा दुई दिनमा मृत्यु हुनेको संख्या ७६ पुग्यो । सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो, हजारौँ मानिस घाइते भए ।

एक वर्षपछि फर्केर हेर्दा प्रश्न धेरै छन् ।

के त्यो बलिदानले खोजेको परिवर्तन आयो ?

के जनताले आफूले खोजेको सुशासन महसुस गर्न पाए ?

के राज्यले सडकमा उठेको आवाजको वास्तविक अर्थ बुझ्यो ?

र सबैभन्दा ठूलो प्रश्न , अब फेरि जनतालाई आफ्नो कुरा सुनाउन सडकमा आउनुपर्ने अवस्था त बन्ने होइन ?

आन्दोलन सही थियो कि गलत ? इतिहासले फैसला गर्नेछ ।

कुनै पनि आन्दोलनलाई केवल केही घण्टा वा दुई दिनको घटनाले मात्र मूल्यांकन गर्न सकिँदैन । आन्दोलनमा उठेका माग के थिए, आन्दोलनपछि देशले कुन बाटो समात्यो, कस्ता सुधार भए र जनताको जीवनमा त्यसको प्रभाव कस्तो पर्यो , इतिहासले अन्ततः त्यसैका आधारमा फैसला गर्नेछ ।

तर एउटा कुरा भने स्पष्ट छ , जनताको असन्तुष्टि अचानक जन्मिँदैन । जब मानिसले पटक–पटक आफ्नो कुरा नसुनिएको महसुस गर्छ, जब प्रश्नको जवाफ पाउँदैन, जब अवसर सीमित हुन्छ, जब राज्यप्रतिको भरोसा कमजोर हुँदै जान्छ, तब असन्तुष्टि विस्तारै जम्मा हुन्छ । कुनै एउटा घटना त्यसलाई विस्फोट गराउने कारण बन्न सक्छ ।

जेनजी आन्दोलनलाई पनि यही दृष्टिले बुझ्न आवश्यक छ । यसलाई केवल सामाजिक सञ्जालको प्रतिबन्धबाट सुरु भएको आन्दोलन भनेर बुझ्नु पर्याप्त हुँदैन । त्यो त तत्काल देखिएको कारण थियो । त्यसको गहिराइमा पुस्तौँदेखि जम्मा हुँदै आएको राजनीतिक निराशा, सुशासनको माग, रोजगारीको चिन्ता, भ्रष्टाचारप्रतिको आक्रोश र आफ्नो भविष्यप्रतिको अनिश्चितता थियो ।

सामान्य नागरिकको आवाज नै राज्यको प्राथमिकता बन्नुपर्छ

अब सरकारका लागि सबैभन्दा ठूलो पाठ यही हो , जनताको आवाज सुन्न चुनाव आउनु पर्दैन, आन्दोलन कुर्नु पर्दैन । सरकारको शक्ति केवल सिंहदरबारभित्र हुँदैन । सरकारको वास्तविक शक्ति त त्यो नागरिकमा हुन्छ, जसले कर तिर्छ, नियम पालना गर्छ, आफ्नो सानो व्यवसाय चलाउँछ, खेतमा पसिना बगाउँछ, बिहानदेखि बेलुकासम्म काम गर्छ र राज्यसँग केवल सुरक्षित जीवन तथा समान अवसरको अपेक्षा राख्छ ।

त्यसैले सरकार ‘भुइँ मान्छे’सम्म पुग्नुपर्छ । काठमाडौंका ठुला भवनभित्रको आवाज मात्र होइन, गाउँको किसानको समस्या पनि सुन्नुपर्छ । सानो पसल चलाउने व्यवसायीको चिन्ता बुझ्नुपर्छ । रोजगारीको खोजीमा भौतारिरहेको युवाको पीडा बुझ्नुपर्छ । सरकारी अस्पतालको लाइनमा उभिएको नागरिकको कठिनाइ बुझ्नुपर्छ । जनताको मर्म बुझ्ने सरकार त्यो हो, जसले नागरिकले माग्नुअघि नै समस्या देख्छ । जेनजी आन्दोलनको सबैभन्दा ठूलो सन्देश पनि यही हो , राज्य जनताभन्दा टाढा हुनु हुँदैन ।

परिवर्तन खोज्दा विनाशको बाटो रोज्नु हुँदैन

तर जनताको आवाज सुन्नुपर्ने जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो । आन्दोलनले परिवर्तनको माग गर्न सक्छ । सरकारलाई प्रश्न गर्न सक्छ । गलत नीतिको विरोध गर्न सक्छ । तर सरकारी भवन, सार्वजनिक सम्पत्ति, निजी व्यवसाय, पसल वा सर्वसाधारणको सम्पत्तिमा आगजनी र तोडफोडलाई कुनै पनि हालतमा आन्दोलनको वैध माध्यम बनाउन सकिँदैन ।

जनताको करबाट बनेका सरकारी भवन जनताकै सम्पत्ति हुन् । एउटा कार्यालय जलेर खरानी हुँदा त्यसको क्षति अन्ततः राज्यको मात्र हुँदैन, नागरिककै हुन्छ । सरकारी कागजात, उपकरण र संरचना नष्ट हुँदा सेवा प्रभावित हुन्छ । व्यवसायमा आगो लाग्दा एउटा व्यवसायीको वर्षौँको मेहनत एकै रातमा सकिन सक्छ । त्यसैले ध्वंसमा संलग्न हुने जोसुकै भए पनि कानुनअनुसार निष्पक्ष र कडा कारबाही हुनुपर्छ ।

आन्दोलनको नाममा अपराधलाई छुट दिनु हुँदैन । तर अपराध नियन्त्रण गर्ने नाममा शान्तिपूर्ण आवाजलाई दबाउने काम पनि हुनु हुँदैन । लोकतन्त्रमा विरोध गर्ने अधिकार र कानुनको सम्मान , दुवै सँगसँगै हिँड्नुपर्छ ।

व्यवसायीको मनमा फेरि भरोसा जगाउनुपर्छ

कुनै पनि देशको अर्थतन्त्र केवल ठुला उद्योग र ठुला कम्पनीले चलाउँदैन । सानो पसलदेखि रेस्टुरेन्ट, होटल, यातायात, उद्योग, स्टार्टअप र स्वरोजगारसम्म हजारौँ व्यवसायीको मेहनतले अर्थतन्त्र चलिरहेको हुन्छ । जब व्यवसायीलाई आफ्नो लगानी सुरक्षित छैन भन्ने डर लाग्छ, तब अर्थतन्त्र कमजोर हुन्छ । जब एउटा पसलेले भोलि आफ्नो पसल सुरक्षित होला कि नहोला भनेर सोच्नुपर्छ, त्यहाँ विकासको सपना अधुरो हुन्छ । त्यसैले अब सरकारले व्यवसायीको मन उच्च बनाउनुपर्छ । देशमा लगानी गर्दा डर होइन, भरोसा पैदा हुनुपर्छ । व्यवसाय गर्नेलाई सुरक्षा, सहज नीति, पारदर्शी प्रशासन र स्थिर वातावरण चाहिन्छ । रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सकियो भने मात्र युवालाई विदेश जानैपर्ने बाध्यता कम गर्न सकिन्छ ।

जेनजी आन्दोलनले परिवर्तन मागेको थियो भने त्यो परिवर्तनको एउटा मापदण्ड यही पनि हुनुपर्छ , देशभित्रै केही गर्छु भन्ने युवाले आफ्नो भविष्य नेपालमै देख्न सक्ने वातावरण बन्यो कि बनेन ?

शहीदको बलिदानलाई भाषणमा सीमित नगरौं

आज शहीदहरूको सम्झनामा कार्यक्रम हुन्छ । श्रद्धाञ्जली अर्पण गरिन्छ । सामाजिक सञ्जालमा तस्बिर राखिन्छ । भाषण हुन्छ । तर शहीदको सम्मान यतिमै पूरा हुँदैन । उनीहरूले गुमाएको जीवनको मूल्य कुनै शब्दले तिर्न सक्दैन । उनीहरूका परिवारले भोगेको पीडा कुनै सरकारी घोषणाले तत्काल मेटाउन सक्दैन । आन्दोलनमा घाइते भएकाहरूको शरीरमा बाँकी रहेका चोट र मनमा बसेका सम्झनाहरू पनि एउटा सार्वजनिक बिदाले हराउँदैनन् ।

त्यसैले शहीद परिवारलाई सम्मान, घाइतेको उपचार र आवश्यक सहयोग तथा उनीहरूको भविष्यप्रतिको राज्यको जिम्मेवारी निरन्तर रहनुपर्छ । शहीदको नाममा स्मारक बनाउनु राम्रो हो, तर उनीहरूले खोजेको सुशासन निर्माण गर्नु त्योभन्दा ठूलो स्मारक हुनेछ ।

आजको दिन सरकारका लागि पनि एउटा ऐना हो । त्यो ऐनामा विगतको सरकार मात्र होइन, आजको शासन पनि देखिनुपर्छ । जनताको आवाज नसुन्ने, प्रश्नलाई बेवास्ता गर्ने, भ्रष्टाचारप्रति आँखा चिम्लिने, अवसरमा विभेद गर्ने र नागरिकलाई राज्यबाट टाढा बनाउने प्रवृत्ति फेरि दोहोरियो भने कुनै पनि नामको आन्दोलन फेरि जन्मिन सक्छ । तर हामीले त्यस्तो दिन फेरि देख्न नपरोस् । नताले आफ्नो अधिकार माग्न सडकमा आउनुपर्दैन । युवाले आफ्नो भविष्यका लागि ज्यान जोखिममा राख्नुपर्दैन । व्यवसायीले आफ्नो लगानीको सुरक्षाका लागि डराउनुपर्दैन । नागरिकले सामान्य सेवा लिन शक्तिशाली व्यक्तिको पहुँच खोज्नुपर्दैन । सरकारले जनताको आवाज सडकमा पुग्नुअघि नै सुन्न सक्नुपर्छ । किनकि एउटा जिम्मेवार राज्यको सफलता आन्दोलन दबाउनुमा होइन, आन्दोलन जन्मिनुपर्ने कारण नै हटाउनुमा हुन्छ ।

शहीदको बलिदानपछि अब देश बदल्ने जिम्मेवारी हाम्रो काँधमा छ

जेनजी आन्दोलनले एउटा पुस्तालाई मात्र प्रश्न गरेको छैन । यसले हामी सबैलाई प्रश्न गरेको छ ।

सरकारलाई , तिमी जनताको आवाज कति सुन्छौ ?

राजनीतिक नेतृत्वलाई , तिमीले आफ्नो जिम्मेवारी कति पूरा गर्छौ ?

प्रशासनलाई, तिमी नागरिकलाई कति सहज सेवा दिन्छौ ?

युवालाई. तिमीले खोजेको परिवर्तनलाई कस्तो समाजमा बदल्छौ ?

र नागरिकलाई, हामी अधिकारसँगै आफ्नो जिम्मेवारी पनि सम्झन्छौँ कि सम्झँदैनौँ ?

अब दोषारोपण गरेर मात्र अगाडि बढ्न सकिँदैन ।

परिवर्तनको सुरुवात राज्यबाट भए पनि त्यसलाई सफल बनाउने जिम्मेवारी हामी सबैको हो । आन्दोलनले बाटो देखाउन सक्छ, तर देशलाई गन्तव्यसम्म पुर्याउने काम राज्य, राजनीतिक नेतृत्व र नागरिक सबैले मिलेर गर्नुपर्छ । एक वर्षअघि सडकमा उठेको आवाज अब इतिहासको पानामा मात्र सीमित हुनु हुँदैन । त्यसले नीति बदल्नुपर्छ, शासन बदल्नुपर्छ, सोच बदल्नुपर्छ र नागरिकको जीवनमा परिवर्तन देखिनुपर्छ । नत्र शहीद दिवस प्रत्येक वर्ष आउँछ, श्रद्धाञ्जलीका शब्दहरू दोहोरिन्छन्, तर प्रश्न भने उही रहिरहन्छ, त्यो बलिदानबाट देशले के सिक्यो ?

जेनजी आन्दोलनको एक वर्ष : एउटा पुस्ताले बदल्न खोजेको राजनीति

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । यो केवल एउटा आन्दोलनको वार्षिकी होइन । यो नेपालको राजनीतिक इतिहासमा एउटा अर्को परिवर्तनको मोड पनि हो । आन्दोलन सही थियो वा गलत थियो भनेर आजै अन्तिम फैसला सुनाउन सकिँदैन । त्यो फैसला इतिहासले गर्नेछ , आन्दोलनपछि देशले समातेको बाटो, प्राप्त उपलब्धि र जनताको जीवनमा आएको परिवर्तनका आधारमा । तर आज हामीले एउटा कुरा चाहिँ सुनिश्चित गर्न सक्छौँ, फेरि जनताले आफ्नो आवाज सुनाउन रगत बगाउनुपर्ने अवस्था नआओस् ।राज्य जनताको आवाज सुन्ने बनोस् ।सरकार भुइँ मान्छेको दुःख बुझ्ने बनोस् ।राजनीति जनताको जीवन बदल्ने माध्यम बनोस् ।व्यवसायीले सुरक्षित महसुस गरून् ।युवाले आफ्नो भविष्य नेपालमै देख्न सकून् । र लोकतन्त्रमा असहमतिको सम्मान होस् ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई सम्झँदै आज हामीले केवल श्रद्धाञ्जली होइन, एउटा प्रतिबद्धता पनि गर्नुपर्छ , अबको नेपाल अझ जिम्मेवार, न्यायपूर्ण, सुरक्षित र जनमुखी बनाउने । 

शहीदप्रति सम्मान र श्रद्धा

जेनजी आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाएका युवाहरू केवल एउटा घटनाका मृतक होइनन्, उनीहरू एउटा पुस्ताले देखेको परिवर्तनको सपना र त्यसका लागि चुकाएको ठूलो मूल्यका प्रतीक हुन् । उनीहरूले गुमाएको जीवन फिर्ता ल्याउन सकिँदैन, तर उनीहरूको बलिदानबाट देशले सिक्न भने सक्छ ।

आज उनीहरूलाई सम्झँदा परिवारले गुमाएको सन्तान, आमाबुबाले गुमाएको सपना, साथीहरूले गुमाएको साथी र देशले गुमाएको एउटा सम्भावना सम्झनुपर्छ । ती अधुरा सपना र अपूरा यात्रालाई सम्मान गर्ने सबैभन्दा ठूलो बाटो भनेको  देशलाई अझ राम्रो बनाउने दिशामा अघि बढ्नु हो ।

आन्दोलनका क्रममा घाइते भएका सबैप्रति पनि सम्मान र सहानुभूति व्यक्त गर्दछौँ । उनीहरूको शारीरिक तथा मानसिक पीडालाई राज्य र समाजले गम्भीरतापूर्वक बुझ्नुपर्छ । घाइतेहरूको उचित उपचार, आवश्यक सहयोग र सम्मानमा कुनै कमी हुनु हुँदैन ।

शहीदको सम्झना केवल फूलमाला, श्रद्धाञ्जलीसभा र सामाजिक सञ्जालका पोस्टमा सीमित नहोस् । उनीहरूको बलिदानले उठाएका प्रश्नहरू राज्यको नीति, शासन प्रणाली र हाम्रो राजनीतिक संस्कारमा प्रतिबिम्बित होऊन् । देशमा फेरि कुनै आमाबुबाले आफ्नो सन्तानलाई परिवर्तनको आवाज उठाएको कारण गुमाउन नपरोस्, कुनै युवाले आफ्नो भविष्यका लागि सडकमा ज्यान गुमाउनुपर्ने अवस्था नआओस् ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण युवाप्रति भावपूर्ण श्रद्धाञ्जली ।

आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना ।

उहाँहरूको बलिदानलाई सम्झनु मात्र होइन, त्यसबाट पाठ सिक्नु नै सच्चा श्रद्धाञ्जली हो ।

सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ।

उहाँहरूले देखेको परिवर्तनको सपना पूरा गर्ने जिम्मेवारी अब हामी सबैको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update