नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन्द्र’ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय साधारण छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय साधारण छलफल सञ्चालन हुनेछ । राष्ट्रसंघबाट प्राप्त जानकारीअनुसार महासभामा ८१ देशका राष्ट्रप्रमुख र ५० देशका सरकार प्रमुख सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा नेपालमा गत वर्ष भएको जेन जेड आन्दोलन, त्यसपछिको निर्वाचन र निर्वाचनबाट प्राप्त जनमतका आधारमा गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछन् ।

‘नेपालको पछिल्लो राजनीतिक परिवर्तन, सफल निर्वाचन र ठूलो जनमतसहित गठन भएको सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न महासभा महत्त्वपूर्ण अवसर हुनेछ,’ सचिव राईले भने ।

नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावलाई निरन्तरता दिँदै थप सुदृढ बनाउन प्रधानमन्त्रीबाट उच्चस्तरीय आह्वान गरिने उनले जानकारी दिए । प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले बारम्बार बेहोर्दै आएको विपद् तथा ठूलो जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य रहे पनि जलवायु परिवर्तनको गम्भीर नकारात्मक असर भोग्नुपरेको विषय सम्बोधनमा प्रमुखताका साथ उठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नेछन् ।

महासभामा नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानबारे पनि जानकारी गराउनेछ । प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय शृङ्खला र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षण तथा प्रवर्द्धनमा योगदान गर्दै आएको विषय प्रस्तुत गरिने सचिव राईले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update