नेपाल न्युज प्वाइन्ट डटकम
भोटेकोशीको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण क्षणभरमै धेरै परिवारले आफ्ना आफन्त गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

'भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,' उनले भने, 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।'

प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा सरकार प्रभावित नागरिकको साथमा रहेको स्पष्ट पारे। प्राकृतिक प्रकोपसँग जुध्नुको विकल्प नभएको उल्लेख गर्दै उनले सरकार उद्धार, राहत तथा पुनर्निर्माणका काममा सक्रिय रहेको बताए ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यलाई तीव्र पारिएको छ भने क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको छ ।

प्रधानमन्त्री शाहले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । उनले विपद्को सामना सामूहिक प्रयासबाट मात्रै प्रभावकारी रूपमा गर्न सकिने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update