नेपाल न्युज प्वाइन्ट डटकम
राजदेवी मन्दिरमा बोकाबलि घट्यो

जनकपुरधाम : जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि प्रदान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष बोकाबलिको संख्या घटेको हो ।

बडादसैँको महाष्टमीका अवसरमा आइतबार राति ८ बजेर ३१ मिनेटदेखि राजदेवी मन्दिरमा बोकाबलि सुरु भएको थियो । बलि प्रदानअघि राम मन्दिरका महन्त राम गिरीले परम्पराअनुसार निशा पूजा गरेका थिए ।

राजदेवी मन्दिरमा बोका बलि दिन नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन् । भाकल पूरा भएपछि तथा धार्मिक आस्थाका आधारमा श्रद्धालुहरूले यहाँ बोका बलि प्रदान गर्ने परम्परा छ ।

महावीर युवा कमिटीले बलि प्रदानलाई व्यवस्थित बनाउन मन्दिर परिसरमा चारवटा ठेहा अर्थात् बलि दिने स्थानको व्यवस्था गरेको थियो । कमिटीले स्वयम्‌सेवक परिचालन तथा श्रद्धालुको आवागमन व्यवस्थापनमा समेत सहयोग गर्दै आएको छ ।

गत वर्ष राजदेवी मन्दिरमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो । यस वर्ष उक्त संख्या १२ वटा घटेको छ । उपलब्ध तथ्यांकअनुसार मन्दिरमा बोका बलिको संख्या वर्षैपिच्छे घटबढ हुँदै आएको छ ।

२०६५ सालमा ११ हजार १३४ वटा बोका बलि प्रदान गरिएकोमा २०६६ सालमा ११ हजार ७९० र २०६७ सालमा १३ हजार ५५२ पुगेको थियो । २०६८ सालमा १२ हजार ५६१ मा झरेको बलिको संख्या २०६९ सालमा १४ हजार ७५४ पुगेको थियो । त्यसैगरी, २०७० सालमा १४ हजार ७२१, २०७१ सालमा १५ हजार ४६१, २०७२ सालमा १३ हजार ८०१, २०७३ सालमा १४ हजार ६१७ र २०७५ सालमा १४ हजार ९९७ वटा बोका बलि प्रदान गरिएको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update