नेपाल न्युज प्वाइन्ट डटकम
सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका– ६, नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ५, लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका– ६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा छन् ।

लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौं बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आएका थिए । स्वस्तीका काठमाडौं बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा थिए ।

आइतबार करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै  मृत्यु भएको थियो ।

दुर्घटनाका परेर तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन् ।

दुर्घटनाम परेर घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका– ६, इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा,  चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका– २ का २९ वर्षीय आशिष विश्वकर्मा छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update