धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा बाढी तथा पहिरोका कारण अवरुद्ध भएको खानेपानी सेवा नेपाल रेडक्रस सोसाइटीको पहलमा पुनः सञ्चालनमा आएको छ ।

बाढी तथा पहिरोका कारण खानेपानीको पाइपलाइन अवरुद्ध हुँदा प्रभावित भएका ११६ घरधुरीका लागि रेडक्रसले पाइपलाइन पुनः जडान गरी पानी ट्यांकीसम्म पुर्याएर खानेपानी सेवा सुचारु गरेको हो ।
खानेपानी सेवा पुनः सञ्चालन भएपछि बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले खुसी व्यक्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक सरोज थापाका अनुसार विपद्का कारण अवरुद्ध भएको खानेपानी सेवा पुनःस्थापना गरी प्रभावित समुदायलाई खानेपानीको पहुँचमा ल्याइएको हो। उहाँले विपद् प्रभावित नागरिकको आधारभूत आवश्यकता पूरा गर्न रेडक्रसले आवश्यक सहयोग तथा पुनर्स्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।
खानेपानी सेवा पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि समस्यामा परेका स्थानीय बासिन्दालाई राहत पुगेको छ।




