नेपाल न्युज प्वाइन्ट डटकम
लगानी भित्र्याउन क्रियाशील रहने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

काठमाडौं : भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइका क्रममा उनले नेपालमा लगानी र प्रविधि भित्र्याउन क्रियाशील हुने बताएका हुन् ।

बाहिरिने भारतीय पर्यटकको तुलनामा नेपाल आउने भारतीय पर्यटकको संख्या ज्यादै न्यून रहेको पाण्डेले बताए । उनले पर्यटन प्रवर्द्धनका लागि अझ धेरै प्रयास गर्नुपर्ने र भारतीय बहालवाला कर्मचारीका लागि विभिन्न योजना ल्याउन उचित हुने उनको धारणा राखे ।

नयाँ दिल्ली, वाराणसी, बैंगलोर, बम्बईलगायतका शहरहरूसँग नेपालको डाइरेक्ट कनेक्टिभिटी भए पनि कोलकाता फ्लाइट नियमित नभएको र यसका लागि प्रयास गर्नुपर्ने पाण्डेले बताए । त्यस्तै उनले सीमा सुरक्षामा प्रविधिको प्रयोग बढाउनुपर्ने, ड्रोनको प्रयोग नेपाली भूमिमा गर्ने तथा २४ सै घण्टा स्मार्ट बोर्डर कन्सेप्ट लागू गर्नुपर्नेमा जोड दिए ।

भारतसँगको व्यापार असन्तुलन कम गर्न विद्युत् निर्यात नै मुख्य माध्यम बन्न सक्ने भएकाले सहजरूपमा विद्युत् आयात–निर्यात गर्न आफूले भूमिका खेल्ने उनको भनाइ छ । नेपालको राजदूतको हैसियतमा आफ्नो भूमिका, दायित्व र चिन्तन सधैँ नेपाल सरकारको नीति निर्देशन र प्राथमिकतामा केन्द्रित रहने उनले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update