नेपाल न्युज प्वाइन्ट डटकम
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

समितिले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको हो ।

अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा रहेका छन् ।

त्यस्तै, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ ।

यसैबीच, मलेसिया जापानका लागि प्रस्तावित राजदूतहरूको नामबारे भने समितिले निर्णय सार्वजनिक गरेको छैन । मलेसियाका लागि चूडामणि खरेल, जापानका लागि जिज्ञान कुमार थापा प्रस्तावित थिए ।

साउदी अरेबियाका लागि गिरिबहादुर सुनारको नाम भने संसदीय सुनुवाइ समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ । जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।

उनीमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए । ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो । छलफलपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको जानकारी गराएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update