नेपाल न्युज प्वाइन्ट डटकम
‘नाइँ’ पनि आत्मसम्मानको भाषा हो

जीवनमा सबैभन्दा गाह्रो शब्द सधैँ ठूलो शब्द हुँदैन । कहिलेकाहीँ एउटा सानो शब्द पनि मुखबाट निकाल्न निकै गाह्रो पर्छ । त्यस्तै एउटा शब्द हो–‘नाइँ’ । कसैलाई ‘नाइँ’ भन्नासाथ ऊ रिसाउला कि, नराम्रो मान्ला कि, आफूलाई स्वार्थी सम्झिएला कि भन्ने डरले हामी धेरैपटक आफ्नो मनविरुद्ध ‘हुन्छ’ भनिदिन्छौँ । आफूले गर्न नसक्ने काममा पनि ‘गर्छु’ भन्छौँ । समय नभए पनि ‘समय मिलाउँछु’ भन्छौँ । पैसा नहुँदा पनि ‘सहयोग गर्छु’ भन्छौँ । शरीर र मन दुवै थाकेको बेला पनि कसैले बोलायो भने ‘आउँछु’ भनिदिन्छौँ ।

त्यो क्षणमा हामी अरूको मन राखिरहेका हुन्छौँ, तर बिस्तारै आफ्नै मनलाई दुखाइरहेका हुन्छौँ । हामीले ‘हुन्छ’ भनेको एउटा वाक्यले अरूलाई खुसी बनाउन सक्छ, तर त्यसलाई पूरा गर्न नसक्दा त्यही ‘हुन्छ’ पछि तनाव, पछुतो, सम्बन्धमा तिक्तता र आफ्नै मनमा बोझ थपिन सक्छ । कसैले पैसा माग्यो । आफूलाई पनि आवश्यक छ, आफ्नो अवस्था पनि सहज छैन, तर ‘नाइँ’ भन्न सक्दैनौँ, ‘रिसाउला कि’ भनेर । कसैले सहयोग माग्यो । आफू पहिले नै धेरै जिम्मेवारीमा छौँ, समय छैन, क्षमता छैन, तर फेरि पनि ‘गर्छु’ भनिदिन्छौँ, ‘नराम्रो मान्ला कि’ भनेर ।

कसैले भेट्न बोलायो । समय मिलाउन मुस्किल छ, आफ्नै काम अधुरा छन्, मन थाकेको छ, तर ‘भेट्न सक्दिनँ’ भन्न सक्दैनौँ । बरु ‘हुन्छ, भेटौँ’ भन्छौँ । पछि समयमै पुग्न नसक्दा तनाव हामीलाई नै हुन्छ, प्रतीक्षा गर्ने मानिसलाई पनि निराशा हुन्छ र अन्ततः सम्बन्धमा नै गलत बुझाइ जन्मिन्छ । त्यसैले अरूलाई खुसी पार्न भनिएको झुटो ‘हुन्छ’भन्दा आफ्नो अवस्था बुझेर भनिएको इमानदार ‘नाइँ’ धेरै राम्रो हुन्छ ।

‘नाइँ’ भन्नु कसैलाई अपमान गर्नु होइन । ‘नाइँ’ भन्नु सम्बन्ध तोड्नु होइन । ‘नाइँ’ भन्नु आफूलाई ठूलो सम्झनु पनि होइन । बरु, आफ्नो क्षमता, समय, अवस्था र सीमालाई स्वीकार गर्नु हो । हामी सबैको आफ्नो एउटा सीमा हुन्छ । सबैको समस्या समाधान गर्न सकिँदैन । सबैलाई खुसी बनाउन सकिँदैन । हरेक ठाउँमा पुग्न सकिँदैन । हरेक अनुरोध स्वीकार गर्न सकिँदैन । र सबैभन्दा ठूलो कुरा, अरूको अपेक्षा पूरा गर्न आफ्नो जीवन नै थकित बनाउन आवश्यक छैन । अरू रिसाउलान् कि भनेर हरेकपटक ‘हुन्छ’ भनिरहँदा अन्ततः आफैँसँग रिसाउनुपर्ने अवस्था आउन सक्छ । किनकि अरूलाई खुसी पार्ने प्रयासमा हामीले आफ्नो समय, ऊर्जा, पैसा, मानसिक शान्ति र कहिलेकाहीँ आफ्नै प्राथमिकता समेत गुमाइरहेका हुन्छौँ ।

जीवनमा ‘म सक्दिनँ’, ‘अहिले सम्भव छैन’, ‘मसँग समय छैन’, ‘म यो गर्न सक्ने अवस्थामा छैन’ भन्न सक्नु पनि एउटा परिपक्वता हो । सबै अनुरोध स्वीकार गर्नु राम्रो मान्छे हुनुको प्रमाण होइन । बरु, आफ्नो हैसियत बुझेर आफूले सक्ने कुरा मात्र स्वीकार गर्नु नै जिम्मेवार हुनु हो । कसैलाई सहयोग गर्नुअघि आफू कहाँ उभिएको छु भनेर हेर्नुपर्छ । आफ्नो खल्ती खाली छ भने अरूको अपेक्षा पूरा गर्न ऋणको भारी बोक्नु आवश्यक छैन । आफ्नो समय छैन भने अरूका लागि समय निकालेर आफ्नो आवश्यक काम बिगार्नु आवश्यक छैन । आफ्नो मन शान्त छैन भने जबर्जस्ती मुस्कुराएर सबैलाई खुसी पार्न खोज्नु पनि आवश्यक छैन । किनकि आफूभित्र आगो बलिरहेको बेला अरूको घरमा उज्यालो बाल्न खोजिरहँदा अन्ततः आफ्नै जीवन अँध्यारो हुन सक्छ ।

तर ‘नाइँ’ भन्नुको अर्थ कठोर हुनु होइन । शब्द नम्र हुन सक्छन् । ‘माफ गर्नुहोस्, अहिले म सक्ने अवस्थामा छैन ।’ ‘अहिले समय मिल्दैन, अर्को दिन भेटौँला ।’ ‘यो सहयोग अहिले गर्न म सक्षम छैन ।’ ‘मसँग अहिले त्यति समय छैन ।’ यति भन्न सके मात्र पनि धेरै अनावश्यक तनावबाट आफूलाई जोगाउन सकिन्छ ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने सबैलाई खुसी राख्ने जिम्मेवारी हाम्रो होइन । कसैले हाम्रो उचित सीमालाई बुझेन भने त्यसको सम्पूर्ण दोष पनि हाम्रो हुँदैन । कहिलेकाहीँ मानिसले हाम्रो ‘नाइँ’लाई नराम्रो रूपमा लिन सक्छ । तर कसैको क्षणिक असन्तुष्टिबाट बच्न आफ्नो जीवनभरको शान्ति गुमाउनु उचित हुँदैन । सम्बन्ध त्यति कमजोर हुनु हुँदैन कि एउटा इमानदार ‘नाइँ’ले नै टुटोस् । साँचो सम्बन्धले हाम्रो ‘हुन्छ’ मात्र होइन, हाम्रो ‘अहिले सक्दिनँ’लाई पनि बुझ्नुपर्छ ।

त्यसैले अबदेखि हरेकपटक कसैलाई जवाफ दिनुअघि एकपटक आफैँलाई सोधौँ–‘म साँच्चै सक्छु?’, ‘मसँग समय छ?’, ‘मेरो अवस्था अनुकूल छ?’, ‘यो जिम्मेवारी पूरा गर्न म सक्षम छु?’ उत्तर ‘हो’ छ भने मनदेखि ‘हुन्छ’ भनौँ । उत्तर ‘होइन’ छ भने अपराधबोधबिना ‘नाइँ’ भन्न सिकौँ । किनकि जीवन अरूको अपेक्षा पूरा गर्दै बिताउनका लागि मात्र होइन । आफ्नो क्षमता बुझेर, आफ्नो सीमाको सम्मान गर्दै र मनको शान्ति जोगाउँदै बाँच्नका लागि पनि हो ।

अन्ततः, सबैको नजरमा राम्रो देखिन खोज्दा जीवनभर आफैँसँग नराम्रो हुनुभन्दा, समयमै एउटा इमानदार ‘नाइँ’ भन्नु धेरै सुन्दर निर्णय हुन सक्छ । किनकि कहिलेकाहीँ ‘नाइँ’ भन्नु अरूलाई अस्वीकार गर्नु होइन, आफूलाई हराउनबाट जोगाउनु हो । जीवनमा सबैलाई खुसी पार्न खोज्दा कतै हामी आफैँसँग टाढिँदै त गइरहेका छैनौँ भन्ने कुरा बुझ्न जरुरी छ । कसैले नराम्रो मान्ला, रिसाउला, सम्बन्ध बिग्रिएला वा आफूलाई स्वार्थी ठान्ला भन्ने डरले हरेकपटक ‘हुन्छ’ भनिरहँदा त्यसको भार अन्ततः आफ्नै मनले बोक्नुपर्छ । हामीसँग समय छैन भने समय छैन भन्न सक्नुपर्छ, क्षमता छैन भने क्षमता छैन भन्न सक्नुपर्छ, पैसा छैन भने छैन भन्न सक्नुपर्छ र कुनै जिम्मेवारी पूरा गर्न सकिँदैन भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ । किनकि आफ्नो वास्तविकता लुकाएर दिएको वचनले क्षणभर कसैलाई खुसी बनाए पनि पछि त्यही वचन पूरा गर्न नसक्दा सम्बन्धमा निराशा र मनमा पछुतो जन्माउन सक्छ ।

‘नाइँ’ भन्नु स्वार्थी हुनु होइन, आफ्नो सीमा चिन्नु हो । ‘सक्दिनँ’ भन्नु कमजोरी होइन, आफ्नो वास्तविकतालाई स्वीकार गर्ने साहस हो । हामी हरेक व्यक्तिको अपेक्षा पूरा गर्न जन्मिएका होइनौँ । सबैलाई खुसी राख्न खोज्दा आफ्नो समय, ऊर्जा, पैसा र मानसिक शान्ति गुमाउनु बुद्धिमानी होइन । त्यसैले अरूको रिस वा असन्तुष्टिभन्दा पहिले आफ्नो अवस्था बुझौँ । आफूले सक्ने कुरा मनदेखि गरौँ, तर नसक्ने कुरामा मीठो शब्दमा इमानदार ‘नाइँ’ भन्न पनि सिकौँ । किनकि जीवन धेरै छोटो छ, अरूको नजरमा राम्रो देखिनकै लागि आफूभित्र निरन्तर बोझ बोकेर बाँच्न । कहिलेकाहीँ समयमै भनिएको एउटा ‘नाइँ’ले सम्बन्धभन्दा बढी आफूलाई बचाउँछ, र एउटा इमानदार ‘सक्दिनँ’ले झुटो ‘हुन्छ’भन्दा धेरै सम्मान जन्माउँछ । अरू सबैको मन जितेर पनि आफ्नै मन हार्नुको कुनै अर्थ छैन । त्यसैले अरूलाई सम्मान गर्दै, तर आफूलाई पनि उत्तिकै महत्त्व दिँदै बाँचौँ; किनकि आफ्नो सीमा बुझेर भनिएको ‘नाइँ’ पनि आत्मसम्मानकै एउटा सुन्दर रूप हो ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update