भूकम्प रोक्न सकिँदैन, तर पूर्वतयारी र सचेतनाले क्षति अवश्य न्यूनीकरण गर्न सकिन्छ

आज बिहान निद्राबाट ब्युँझँदै गर्दा अचानक केही हल्लिएको महसुस भयो । बिहान गएको सानो भूकम्पले शरीर केही क्षण हल्लायो, तर मनमा भने अनेकौँ कुरा खेल्न थाले । विगतका ठूला विपद्, त्यसले निम्त्याएका पीडा, मानवीय क्षति र प्रतिकार्यका क्रममा देखेका दृश्यहरू एकपछि अर्को गर्दै स्मृतिमा ताजा भए ।

विपद् आउँछ, मानवीय तथा भौतिक क्षति हुन्छ, परिवारहरू प्रभावित हुन्छन्, धेरैको जीवन कष्टकर बन्छ । त्यसपछि उद्धार, राहत र पुनःस्थापनाका कामहरू सुरु हुन्छन् । केही समयसम्म हामी सबै सचेत हुन्छौँ, विपद्का विषयमा चर्चा गर्छौँ, पूर्वतयारीका प्रतिबद्धता व्यक्त गर्छौँ । तर समय बित्दै जाँदा ती पीडा, अनुभव र सिकाइहरू विस्तारै बिर्सन थाल्छौँ ।

वास्तवमा हामीले विपद्लाई बिर्सनु हुँदैन, विपद्बाट सिकेका पाठलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ । किनकि विपद् बाजा बजाएर आउँदैन । भूकम्प कहिले आउँछ भन्ने हामीलाई थाहा हुँदैन, तर त्यसको सामना गर्न कति तयार छौँ भन्ने कुरा हाम्रो तयारी र सचेतनामा निर्भर गर्छ ।

नेपालको भूकम्पीय जोखिम र हाम्रो जिम्मेवारी

नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले संवेदनशील मुलुक हो । भौगोलिक बनावट, कमजोर संरचना, अव्यवस्थित बस्ती विकास, जनचेतनाको कमी र पर्याप्त पूर्वतयारीको अभावले भूकम्पबाट हुने सम्भावित क्षतिलाई थप जटिल बनाउन सक्छ ।

भूकम्प कहिले, कहाँ र कति शक्तिको आउँछ भन्ने कुरा निश्चित रूपमा पूर्वानुमान गर्न सकिँदैन । त्यसैले भूकम्प रोक्ने होइन, भूकम्पको जोखिम बुझ्ने, त्यसको सामना गर्न तयार रहने र सम्भावित क्षति न्यूनीकरण गर्ने विषय हाम्रो प्राथमिकता हुनुपर्छ ।

विपद्को समयमा काम गर्दाका अनुभव र सिकाइ

नेपाल रेडक्रसको मानवीय सेवामा आबद्ध भएर विगत लामो समयदेखि विभिन्न जिल्लामा विपद् प्रतिकार्य, राहत, पुनर्लाभ तथा समुदायको पुनःस्थापनासम्बन्धी कार्यमा संलग्न हुने अवसर पाएको छु । विशेषगरी २०७२ सालको विनाशकारी भूकम्प र २०८० सालको जाजरकोट भूकम्पपछिको प्रतिकार्य तथा पुनर्लाभका क्रममा प्राप्त अनुभव मेरा लागि जीवनका महत्वपूर्ण सिकाइ बनेका छन् ।

भूकम्पपछि भत्किएका घर, आफन्त गुमाएका परिवार, खुला आकाशमुनि रात बिताउन बाध्य नागरिक, घाइतेको उपचारका लागि भइरहेको संघर्ष र आधारभूत आवश्यकताका लागि पर्खिरहेका समुदायका दृश्यहरू सजिलै बिर्सन सकिँदैनन् ।

विपद्को समयमा मानिसले घर मात्र गुमाउँदैनन्, उनीहरूको सुरक्षा, आत्मविश्वास, जीविकोपार्जन र भविष्यप्रतिको आशा पनि प्रभावित हुन्छ ।

यस्ता परिस्थितिमा राहत सामग्री पुर्‍याउनु मात्र पर्याप्त हुँदैन । प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नु, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा, अस्थायी आवास, मनोसामाजिक सहयोग र जीविकोपार्जनका अवसर सुनिश्चित गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

विपद्पछिको अनुभवले मलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ– विपद् आइपरेपछि मात्र तयारी गर्न थाल्नु ढिलो हुन सक्छ । पूर्वतयारी गरिएको समुदायले सीमित स्रोतसाधनका बाबजुद पनि आफ्नो सुरक्षा गर्न र क्षति न्यूनीकरण गर्न धेरै हदसम्म सक्षम हुन्छ ।

भूकम्प आउनुअघि के गर्ने ? पूर्वतयारी नै जीवन रक्षाको आधार

भूकम्पलाई रोक्न सकिँदैन, तर यसबाट हुने जोखिम घटाउन सकिन्छ । त्यसका लागि प्रत्येक परिवार, विद्यालय, कार्यालय, स्थानीय तह र समुदायले आफ्नो तहबाट पूर्वतयारी गर्न आवश्यक छ ।

१. घर तथा भवन सुरक्षित बनाऔँ

घर निर्माण गर्दा राष्ट्रिय भवन संहिता र भूकम्पप्रतिरोधी मापदण्ड पालना गर्नुपर्छ । पुराना तथा कमजोर संरचनाको प्राविधिक परीक्षण गराई आवश्यक सुदृढीकरण गर्नुपर्छ । घरभित्रका दराज, र्‍याक, ग्यास सिलिन्डर र अन्य भारी सामग्री सुरक्षित रूपमा राख्नुपर्छ ।

२. पारिवारिक विपद् योजना बनाऔँ

परिवारका सबै सदस्यलाई भूकम्प आउँदा कहाँ जाने, कसरी सुरक्षित हुने र भूकम्पपछि कहाँ भेट्ने भन्ने जानकारी हुनुपर्छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।

३. आपत्कालीन झोला तयार राखौँ

प्राथमिक उपचार सामग्री, पिउने पानी, सुख्खा खानेकुरा, टर्च, अतिरिक्त ब्याट्री, सिटी, रेडियो, आवश्यक औषधि, मास्क, केही नगद र महत्वपूर्ण कागजातको प्रतिलिपि सुरक्षित स्थानमा राख्नुपर्छ ।

४. सुरक्षित स्थान पहिचान गरौँ

घरभित्र बलियो टेबुलमुनि सुरक्षित आश्रय लिन सकिने स्थान पहिचान गर्नुपर्छ । घरबाहिर खुला तथा सुरक्षित स्थान र त्यहाँ पुग्ने बाटो पहिल्यै थाहा हुनुपर्छ ।

५. नियमित अभ्यास गरौँ

विद्यालय, कार्यालय, समुदाय र घरपरिवारमा भूकम्प सुरक्षा अभ्यास सञ्चालन गर्नुपर्छ । 'Drop, Cover and Hold On' अर्थात् झुक्ने, ओत लाग्ने र समातेर बस्ने अभ्यास सबैले सिक्नुपर्छ ।

भूकम्प गइरहेको समयमा के गर्ने ?

भूकम्प गएको समयमा आत्तिएर दौडनु, झ्यालबाट हामफाल्नु वा लिफ्ट प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ । त्यसैले आफू जहाँ छौँ, त्यहीँ सुरक्षित हुने उपाय अपनाउनुपर्छ ।

घरभित्र भएमा: तुरुन्त झुक्ने, बलियो टेबुल वा डेस्कमुनि ओत लाग्ने र त्यसलाई समातेर बस्ने । झ्याल, सिसा, अग्ला दराज र खस्न सक्ने सामानबाट टाढा रहने ।

घरबाहिर भएमा: भवन, पर्खाल, बिजुलीका तार, पोल र रुखबाट टाढा खुला स्थानमा जाने ।

सवारीसाधनमा भएमा: सुरक्षित ठाउँमा सवारी रोक्ने र पुल, सुरुङ, अग्ला भवन तथा बिजुलीका तारबाट टाढा रहने ।

विद्यालय वा कार्यालयमा भएमा: शिक्षक, जिम्मेवार व्यक्ति वा सुरक्षा योजनाअनुसार सुरक्षित आश्रय लिने । भागाभाग नगर्ने ।

ओछ्यानमा भएमा: सिरानीले टाउको छोपेर त्यहीँ सुरक्षित रहने । वरिपरि सिसा वा खस्न सक्ने वस्तु भए सावधानी अपनाउने ।

भूकम्पको कम्पन रोकिएपछि मात्र सावधानीपूर्वक सुरक्षित स्थानतर्फ जाने प्रयास गर्नुपर्छ ।

भूकम्पपछि पनि सतर्क रहन आवश्यक छ

भूकम्पको मुख्य धक्का रोकिएपछि पनि परकम्प जान सक्छ । त्यसैले पहिलो कम्पनपछि घर सुरक्षित छ भन्ने निष्कर्षमा पुगेर हतारमा भित्र पस्नु हुँदैन ।

आफू र परिवारका सदस्य सुरक्षित छन् कि छैनन् जाँच गर्ने ।

घाइतेलाई प्राथमिक उपचार दिने र आवश्यक परे उद्धार तथा स्वास्थ्य सेवाको सहयोग माग्ने ।

ग्यास, बिजुली तथा पानीका पाइपमा क्षति पुगेको छ कि छैन सावधानीपूर्वक जाँच गर्ने । ग्यास चुहावटको शङ्का भए आगो नबाल्ने र बिजुलीका स्विच नचलाउने ।

चर्किएका, ढल्किएका वा क्षति पुगेका भवनमा प्रवेश नगर्ने । प्राविधिक परीक्षणपछि मात्र प्रयोग गर्ने ।

आधिकारिक निकायबाट प्राप्त सूचना मात्र विश्वास गर्ने । सामाजिक सञ्जालमा फैलिने अपुष्ट हल्ला र भूकम्पको पूर्वानुमानसम्बन्धी भ्रामक सूचनाबाट सचेत रहने ।

उद्धार तथा राहत कार्यमा अवरोध नगर्ने र आवश्यकता नपरी जोखिमयुक्त स्थानमा भीड नगर्ने ।

रेडक्रसकर्मीको भूमिका : राहतभन्दा अगाडि मानवीय सुरक्षा र तयारी

नेपाल रेडक्रस सोसाइटीजस्ता मानवीय संस्थाहरूको भूमिका विपद् आइसकेपछि राहत वितरणमा मात्र सीमित हुँदैन । समुदायलाई विपद् आउनुअघि नै सुरक्षित बनाउन सचेतना, जोखिम पहिचान, प्राथमिक उपचार तालिम, खोज तथा उद्धारसम्बन्धी आधारभूत सीप, स्वयंसेवक परिचालन र स्थानीय तहसँगको समन्वयमा निरन्तर काम गर्नुपर्छ ।

रेडक्रसको मानवीय सेवाको मूल भावना भनेकै पीडामा परेका मानिसको जीवन बचाउनु, दुःख कम गर्नु र मानवीय मर्यादाको रक्षा गर्नु हो । त्यसैले प्रत्येक समुदायमा प्राथमिक उपचार जान्ने व्यक्ति, प्रशिक्षित स्वयंसेवक, आपत्कालीन सम्पर्क सञ्जाल र उपलब्ध स्रोतसाधनको विवरण हुनु आवश्यक छ ।

स्थानीय तहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना प्रभावकारी बनाउनुपर्छ । विद्यालयमा नियमित सुरक्षा अभ्यास, अस्पतालमा आपत्कालीन तयारी, खुला स्थानको पहिचान, सुरक्षित निकास मार्ग, उद्धार सामग्रीको व्यवस्थापन र समुदायमा आधारित विपद् व्यवस्थापन समितिको सक्रियता आवश्यक छ ।

यसका साथै विपद्को समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको विशेष आवश्यकता सम्बोधन गर्ने तयारी पनि हुनुपर्छ ।

भूकम्पपछि मात्र होइन, भूकम्प आउनुअघि नै जागौँ

हामी प्रायः विपद् भएपछि केही समय सचेत हुन्छौँ, राहत तथा उद्धारका गतिविधिमा जुट्छौँ र समय बित्दै जाँदा पुनः पुरानै अवस्थामा फर्किन्छौँ । यही प्रवृत्तिमा परिवर्तन आवश्यक छ । विपद् जोखिम न्यूनीकरण कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी होइन । यो प्रत्येक नागरिकको साझा दायित्व हो ।

आज बिहान गएको सानो भूकम्पलाई केवल केही क्षणको त्रासका रूपमा मात्र नलिऔँ । यसलाई आफ्नो घर, विद्यालय, कार्यालय र समुदायको सुरक्षा अवस्था पुनः जाँच गर्ने अवसरका रूपमा लिऔँ । परिवारसँग बसेर आपत्कालीन योजना बनाऔँ । आपत्कालीन झोला तयार गरौँ । बालबालिकालाई भूकम्पका बेला अपनाउनुपर्ने व्यवहार सिकाऔँ । जोखिमयुक्त भवनको पहिचान गरौँ र सुरक्षित संरचना निर्माणलाई प्राथमिकता दिऔँ ।

२०७२ सालको भूकम्प र २०८० सालको जाजरकोट भूकम्पले हामीलाई धेरै पीडा र पाठ दिएका छन् । ती अनुभवलाई स्मृतिमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सक्नु नै वास्तविक सिकाइ हो ।

अन्त्यमा, भूकम्प प्राकृतिक प्रक्रिया हो, यसलाई रोक्न हाम्रो वशमा छैन । तर भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने तयारी, सचेतना र जिम्मेवारी हाम्रो हातमा छ । विपद् आएपछि सहयोग खोज्नुभन्दा विपद् आउनुअघि नै तयार हुनु बुद्धिमानी हो ।

विपद् आउँछ, क्षति हुन्छ, हामी केही समय सचेत हुन्छौँ अनि फेरि बिर्सन्छौँ । अब यो प्रवृत्ति बदलौँ । विपद् बिर्सनु हाम्रो कमजोरी हो, विपद्बाट सिक्नु हाम्रो जिम्मेवारी हो ।

किनकि विपद् रोक्न सकिँदैन, तर पूर्वतयारीले जीवन बचाउन सक्छ ।

(लेखक थापा रसुवा बाढी प्रतिकार्य कार्यक्रम, धादिङ जिल्ला संयोजक हुन् ।)

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update