त्रिशूली (नुवाकोट) : भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घर भाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
संघीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैंक खातामा रकम पठाउन थालिएको हो । नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारलाई उक्त रकम उपलब्ध गराउन थालिएको हो ।
“लाभग्राही कायम भएका वडा नं १० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन सुरु गरिएकामा अहिले प्रभावित सबै वडामा पुगेका छौँ,” नगरप्रमुख श्रेष्ठले भने, “विवरण अद्यावधिक गर्ने क्रम जारी रहेकाले लाभग्राही कायम भएका सबैलाई जतिसक्दो चाँडो रकम उपलब्ध गराउने प्रयास भइरहेको छ ।”
विदुर नगर कार्यपालिकाको गत भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावितलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक रु १० हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै संघीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै त्यसबापतको खर्च छ महिनासम्म उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी विदुर नगरपालिकाले घर भाडाबापतको रकम उपलब्ध गराउन थालेको हो ।
नगरपालिकाले सामाजिक संघसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने बन्दोबस्तीका सामग्री, लत्ताकपडा, भाँडाकुँडा तथा सरसफाइका सामग्री यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ । लाभग्राही पहिचानका लागि आवश्यक विवरण संकलन तथा प्रमाणीकरणमा समय लागेकाले घर भाडाबापतको रकम वितरण गर्न ढिलाइ भएको नगर उपप्रमुख प्रभा बोगटीले बताइन् ।
उनका अनुसार विदुर नगरपालिकामा बाढी प्रभावित एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुनसक्ने उपप्रमुख बोगटीले जानकारी दिइन् ।
सरकारले बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म मासिक घरभाडा उपलब्ध गराउने घोषणा गरेको छ । घोषणाअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना रु १५ हजार उपलब्ध गराउन थालिएको हो । चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना रु दुई हजारका दरले थप रकम उपलब्ध गराउने व्यवस्था छ ।
बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घर भाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ । ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन् ।


