काठमाडौं : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
बैठक सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको थियो । बैठकका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो ।
समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले बैठक सुरु भइसकेको अवस्थामा आफू अस्वस्थ रहेको जानकारी गराएका थिए ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो ।
मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो ।


