नेपाल न्युज प्वाइन्ट डटकम
भोटेकोशी बाढीपीडितलाई अधिकृत समाज ब्याट-३५ को ३ लाख १९ हजार सहयोग

काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अधिकृत समाज ‘ब्याट–३५’ ले ३ लाख १९ हजार १ सय ३९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समाजले बुधबार सार्वजनिक गरेको विवरणअनुसार शाखा अधिकृतहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७१ हजार २ सय ३४ रुपैयाँ जम्मा गरेका छन्। त्यसैगरी, समाजकै कोषबाट संकलित १ लाख ४७ हजार ९ सय ५ रुपैयाँसमेत थप गरी कुल उक्त रकम सहयोग प्रदान गरिएको हो।

समाजले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

उक्त सहयोग रकम विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यमा प्रयोग हुने जनाइएको छ।

विपद्को यस कठिन घडीमा राहत, उद्धार र पुनःस्थापनामा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै समाजले सम्बन्धित सबै पक्षलाई सहकार्यका लागि अपिलसमेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update