काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो ११ बजे सम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २३ जना र नवलपरासी पश्चिम २ सय २२ जना गरी १ हजार ३ सय ५६ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय २४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार २ सय ९० गरी कुल २ हजार ५ सय ७० वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय २५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।


