गोरखा : भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूका लागि गोरखाको शहीद लखन गाउँपालिकाले सहयोगको घोषणा गरेको छ । गाउँपालिकाले बाढीमा परी सम्पर्कविहीन भएका आफ्ना नागरिकका परिवारलाई राहत उपलब्ध गराउनुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।
शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरद्वारा जारी प्रेस वक्तव्य अनुसार, गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुऱ्याएको जनधनको क्षतिप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरू प्रति गाउँपालिकाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बाढीका कारण शहीद लखन गाउँपालिकाका सात जना नागरिक हालसम्म सम्पर्कविहीन रहेका छन् । गाउँपालिकाले बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । यस विपद्को घडीमा खोजी तथा उद्धार कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई प्रति परिवार ३५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनामा ऐक्यवद्धता जनाउँदै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीहरूले आफ्नो पारिश्रमिक योगदान गर्ने भएका छन् । जसअनुसार गाउँपालिकाका अधिकृत स्तरका कर्मचारीले ७ दिन, सहायक स्तरका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिनको पारिश्रमिक योगदान गर्नेछन् ।
त्यसैगरी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू मध्ये मावि द्वितीय, साविक उमावि, निमावि प्रथम, मावि तृतीय, निमावि द्वितीय र प्रावि प्रथम तहका शिक्षक तथा कर्मचारीले ७ दिनको, निमावि तृतीय, प्रावि द्वितीय र प्रावि तृतीय तहकाले ५ दिनको तथा विद्यालय सहायक, बालविकास सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता र विद्यालय सहयोगीहरूले २ दिनको पारिश्रमिक योगदान गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
यस प्रकार सबै पक्षबाट पारिश्रमिक योगदान गरी संकलन हुने अनुमानित ३० लाख ७५ हजार ९ सय २६ रुपैयाँ गाउँपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने वक्तव्यमा उल्लेख छ ।



