नेपाल न्युज प्वाइन्ट डटकम
भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, करिब ४ हजार सम्पर्कविहीन

काठमाडौं : भोटेकोशी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबार बिहान ९ बजेसम्मको  तथ्यांकअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्राधिकरणकाअनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट संकलन गरिएको छ । जसअनुसार चितवनमा सबैभन्दा बढी ३२१ (विभिन्न मानव अंगसहित), नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ ।

यसैगरी नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । नेपाली सेनाले मात्रै २ हजार ७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ ।

सम्पर्कविहीन रहेका ३ हजार ९१६ जनामध्ये ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका १६४ जना नेपाली रहेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही व्यक्तिहरू सम्पर्कविहीन भएको बताइएको छ । बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन गरिएका छन् ।

विपद् व्यवस्थापनका लागि कुल २१ हजार ११ सुरक्षाकर्मी मैदानमा उत्रिएका छन् । यसमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सहभागी छन् । 

हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाले ५७३ पटक हवाई उडान गरी ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, निजी क्षेत्रबाट २९ वटा र सशस्त्र प्रहरी बलमार्फत ५० वटा उडान गरी राहत र उद्धार कार्यमा सहयोग पुर्‍याइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update