नेपाल न्युज प्वाइन्ट डटकम
कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो : हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही बन्न नसकेको आरोप लगाउँदै कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनेबित्तिकै आफ्नै स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका साम्पाङलाई सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिएका थिए । त्यसक्रममा उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ सरकारले बेवास्ता गरेको आरोप लगाए ।

साम्पाङले संसद् नियमावलीअनुसार सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहे पनि वैशाख २८ गते आफूहरूले उठाएको प्रश्नको हालसम्म जवाफ नआएको बताए । उनले लिपुलेक सीमा विवाद र सुरक्षासम्बन्धी विषयमा उठाइएका प्रश्नको उत्तर दिन प्रधानमन्त्री शाह स्वयं प्रतिनिधिसभामा उपस्थित हुनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री शाहले गृह र रक्षा मन्त्रालयसमेत सम्हालिरहेको उल्लेख गर्दै संसदमा उपस्थित भएर सांसदका जिज्ञासाको जवाफ दिनुपर्ने बताए । ‘उहाँ यो संसद्को सदस्य हो कि होइन ? यो देशमा संसद छ कि छैन ?’ भन्दै साम्पाङले संसद र लोकतन्त्रको गरिमा जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए ।

साम्पाङले जेठ ४ गतेयता प्रतिनिधिसभाको बैठकमा निरन्तर प्लेकार्डसहित विरोध जनाउँदै आएका छन् । बिहीबार पनि उनले त्यसलाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update