धादिङ : नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले बाढी तथा पहिरो प्रभावित परिवारको अवस्था सहज बनाउन राहत तथा प्रतिकार्यका विभिन्न कार्यक्रमसँगै डेबरिज क्लियरन्स (लेदो तथा गेग्रान पन्छाउने) अभियान सञ्चालन गरिरहेको छ ।
गल्छी र गजुरी गाउँपालिकाका विभिन्न प्रभावित बस्तीमा बाढीपछि घर, विद्यालय, सार्वजनिक भवन तथा अन्य संरचनामा थुप्रिएको लेदो, माटो र गेग्रान हटाउने कार्य भइरहेको छ । प्रभावित परिवारको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राख्दै रेडक्रसले दैनिक आवस्यकताको आधारमा स्वयंसेवक परिचालन गरेको छ ।

अभियानमा स्थानीय स्वयंसेवकसँगै रसुवा बाढीबाट प्रभावित परिवारका स्वयंसेवकहरू समेत सहभागी भएका छन् । उनीहरूले सुरक्षा सामग्रीसहित प्रभावित परिवारका घर तथा सार्वजनिक स्थलमा जमेको लेदो र गेग्रान पन्छाउने काममा सहयोग गरिरहेका छन् ।
कार्यक्रम संयोजक सरोज थापाका अनुसार, बाढी प्रभावित परिवारले घर तथा सार्वजनिक स्थलमा थुप्रिएको लेदोका कारण दैनिक जीवन सञ्चालनमा कठिनाइ भोगिरहेका छन् । त्यसैले राहत तथा अन्य प्रतिकार्य कार्यक्रमसँगै प्रभावित परिवारलाई तत्काल सहज वातावरणमा फर्काउन डेबरिज क्लियरन्सलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

“राहत तथा प्रतिकार्यका अन्य कार्यक्रमसँगै प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन घर र सार्वजनिक स्थलमा जमेको लेदो तथा गेग्रान पन्छाउने काम पनि निरन्तर गरिरहेका छौँ,” संयोजक थापाले भने ।
चाडपर्वसमेत नजिकिँदै गएको अवस्थामा प्रभावित परिवारलाई आफ्नो घर तथा समुदायको वातावरण सुरक्षित र सहज बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले डेबरिज क्लियरन्स कार्यलाई आवश्यकताका आधारमा निरन्तरता दिइएको छ ।





