काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक विवादभन्दा देशका जटिल मुद्दामा केन्द्रित भएर सोच्ने समय आएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस अहिले घरझगडामा अल्झिने होइन, मुलुकका चुनौती समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै थापाले आफूले नेपाली कांग्रेसको नेतृत्वलाई ऐतिहासिक जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे । बिपी कोइरालाको राजनीतिक विरासत सम्झँदै उनले कांग्रेसको नेतृत्वले व्यक्तिगत वा गुटगत विवादभन्दा देश र लोकतन्त्रको पक्षमा सोच्नुपर्ने बताए ।
उनले कांग्रेसभित्र लामो समयदेखि विभिन्न संघर्ष हुँदै आएको स्मरण गर्दै ती संघर्ष नागरिक स्वतन्त्रता, आत्मसम्मान र लोकतान्त्रिक अधिकारका लागि भएको बताए । लोकतन्त्रमार्फत नागरिकको जीवनमा परिवर्तन सम्भव हुने विश्वासकै कारण धेरै नेताकार्यकर्ताले त्याग र संघर्ष गरेको उनको भनाइ थियो ।
सभापति थापाले कांग्रेसलाई देशका मूल मुद्दामा स्पष्ट र सशक्त रूपमा उभ्याउन पार्टीभित्र व्यापक छलफल आवश्यक रहेको बताए । विशेष महाधिवेशनको प्रस्ताव पनि त्यही उद्देश्यका लागि ल्याइएको उनको दाबी थियो । कांग्रेस केवल संगठनभित्र सीमित नभई लाखौं समर्थक र शुभेच्छुकको भावना जोडिएको पार्टी भएको उनले उल्लेख गरे ।
उनका अनुसार पछिल्लो निर्वाचनमा कांग्रेसले करिब १० लाख समर्थक तथा शुभेच्छुकको विश्वास गुमाएको छ । ती मतदातामाझ पुनः भरोसा निर्माण गर्न आफू सभापतिका रूपमा सक्रिय रहेको उनले बताए ।
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको जानकारी दिए । सार्वजनिक मञ्चदेखि नेताहरूको घरघरमा पुगेर संवाद गरिरहेको उल्लेख गर्दै उनले पार्टी एकताको प्रयास नभएको भन्ने टिप्पणीप्रति असन्तुष्टि जनाए ।
उनले आफूले अग्रज नेताहरूसँग नम्रतापूर्वक संवाद गर्दै सहकार्यको वातावरण बनाउन खोजिरहेको बताए । पार्टीभित्र दुईवटा कांग्रेस नभएकाले सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
पार्टीको १५औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता अद्यावधिक अभियान तथा संगठन विस्तारका विषयमा पनि थापाले धारणा राखे । सदस्यता अद्यावधिकलाई लिएर केही नेताहरूबाट भइरहेको विरोधप्रति संकेत गर्दै उनले सदस्यता निरन्तरता दिन आग्रह गर्नु कुनै अस्वाभाविक विषय नभएको बताए ।
उनले नयाँ विधानअनुसार ३० वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधित्वमा अवसर दिने व्यवस्था गरिएको जानकारी दिँदै युवापुस्तालाई कांग्रेसमा सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए ।
सभापति थापाले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि सम्मानजनक रूपमा पार्टी संरचनामा समेट्ने काम भइरहेको बताए । निष्पक्ष ढंगले समिति गठन र नेतृत्व व्यवस्थापनका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनको भनाइ थियो ।


