काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोगक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा चुनौती उत्पन्न गरिरहेको बताएका छन् ।
संयोजक ‘प्रचण्ड’ले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार दुई तिहाइ बहुमतको आडमा नागरिक स्वतन्त्रता सीमित गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए ।
उनले संसद् सञ्चालनसम्बन्धी प्रक्रियामा सरकारले अपनाएको शैलीप्रति पनि असन्तुष्टि जनाए । संसद् बैठक आह्वान गरिसकेपछि त्यसलाई स्थगित गरेर अध्यादेशमार्फत काम अघि बढाउनु लोकतान्त्रिक अभ्यास अनुकूल नभएको उनको भनाइ थियो । यस्ता कदमप्रति बुद्धिजीवी तथा सर्वसाधारण तहबाट समेत प्रश्न उठिरहेको उनले उल्लेख गरे ।
ट्रेड युनियनसम्बन्धी विषय, विद्यार्थी संगठनमाथिका प्रतिबन्धलगायतका गतिविधिले सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट टाढिँदै गएको संकेत गरेको ‘प्रचण्ड’को धारणा थियो ।
उनले आफ्नो पार्टी सरकारका सकारात्मक तथा जनहितका काममा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका विषयमा भने निरन्तर खबरदारी गरिरहने बताए ।
सरकारको नियत र कार्यशैलीप्रति शंका व्यक्त गर्दै उनले नागरिक अधिकार प्रभावित हुने प्रकृतिका कदमलाई समर्थन गर्न नसकिने स्पष्ट पारे ।
प्रदेश सरकार पुनर्गठनका विषयमा विभिन्न दलबाट सहकार्यका प्रस्ताव आएको जानकारी दिँदै प्रचण्डले आफ्नो पार्टी तत्काल प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको बताए । उनका अनुसार कतिपय प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा कतिपय स्थानमा नेपाली काँग्रेस बाट सहकार्यको प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरिएको छ ।
उनले सबै प्रमुख दल र मधेसकेन्द्रित शक्तिहरूको सहभागितामा साझा सरकार गठन गर्ने विषयमा सहमति भए आफ्नो पार्टी सकारात्मक रहने धारणा समेत व्यक्त गरे ।


