काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संसदलाई इन्द्रेणी संसद भएको बताएका छन् । नयाँ प्रतिनिधि सभाको भवनमा चलिरहेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौं योगदान र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै संसद भवन बनाइएको दाबी गरे ।
‘यो इन्द्रेणी संसद बनाउन हामीले लाखौं योगदान बलिदान र रगत पसिना बगाएका छौँ । मलाई गर्व लागेको छ । परिणामको हिसाबले सानो ठूलो जोसुकै जे भएपनि उपेक्षित उत्पीडित वर्गको इन्द्रधनुष बनेको सदनमा गौरवपूर्ण भइरहेको छ ’ उनले भने, ‘अहिलेको सदनमा दलित प्रतिनिधि १७ जना हुनुहुन्छ । ४० सालमा ६ जना महिला हुनुहुन्थ्यो अहिले ९६ जना महिला हुनुहुन्छ । यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । इतिहासको अध्ययन चिन्तन र मनन गर्न म प्रतिनिधिसभा सदस्यहरूलाई अनुरोध गर्छु । यो कथा क्रान्तिले लेखिएको छ पिठुले दुधे बालक र काँधमा बन्दुक बोकेका व्यक्तिहरुले लेखेका छन् ।’
उनले भावुक हुँदै थपे, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन् । म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’
उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे ।


