काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद् बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासमा विरलै देखिने दृश्यको संज्ञा दिँदै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन् ।
उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर बाहिरिनु सामान्य विषय नभएको बताइन् ।
“हिजो संसद्मा लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने दृश्य देखियो,” उनले भनिन्, “राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीज्यू बाहिरिनु केवल सामान्य घटना होइन ।”
कांग्रेसले यस घटनालाई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्वसँग जोडिएको विषयका रूपमा व्याख्या गरेको छ । सांसद थापाले यस्ता घटनाले सरकारको गम्भीरतामाथि प्रश्न उठ्ने बताउँदै संसद् र जनताप्रति सरकार जवाफदेही हुनुपर्ने धारणा राखिन् ।
उनले सरकारसँग यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुनेमा ध्यानाकर्षण गराइन् ।
“लोकतन्त्रमा पदभन्दा ठुलो कुरा मर्यादा हो र मर्यादाभन्दा ठुलो कुरा जनविश्वास हो,” उनले भनिन्, “प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफ माग गर्दछु ।”


