काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद साम्पाङले सीमा जोगाउन सेना पठायो कि सुकुमबासी बस्तीमा रहेका गरिब जनतालाई हटाउन भन्ने प्रश्न समेत गरे ।
‘सरकारले छिमेकी मुलुकहरूले सीमा मिचेर नेपालको भूमि मिचेर नाका खोल्दा सरकार किन चुप छ,’ सांसद साम्पाङले भने । उनले सरकारले नेपाली सेनालाई नेपालको सीमा बचाउन पठायो कि सुकुम्वासी बस्तीमा गरिब जनता उठाउन भन्दै प्रश्न गरे ।
उनले देश अभिभावकविहीन भएको पनि बताए । सुकुम्वासी रुवाउने सरकार जनताको अभिभावक हुन नसक्ने बताए । उनले संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र ? भन्दै प्रश्न पनि गरे । उनले प्रश्न गर्दै भने, 'प्रधानमन्त्री सुकुम्वासीलाई राखिएका होल्डिङ सेन्टरमा पुग्नुभएको छ कि कार्यालय र निवासमै लुकेर बस्नुभएको छ ?'
सांसद साम्पाङले सरकार चलाउनेलाई सामान्य हिसाब समेत सिकाउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य समेत गरे । उनले संवैधानिक परिषद्मा ६ जनामा ३ जना कसरी बहुमत भयो ? ४ पहिले आउँछ कि १ पहिले आउँछ ? भन्ने प्रश्न पनि सरकारसँग गरे ।


