नेपाल न्युज प्वाइन्ट डटकम
जीवनी लेख्न होइन इतिहास लेख्ने लक्ष्यसहित राजनीतिमा आएको हुँ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू राजनीतिमा पद र प्रतिष्ठाका लागि नभई इतिहास लेख्ने उद्देश्यसहित आएको बताएका छन् । उनले पार्टीका सांसदहरूलाई लोकप्रियता र ‘भाइरल’ बन्ने प्रतिस्पर्धाभन्दा जनताको मुद्दा र कानुन निर्माणमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको आइतबार समापन गर्दै सभापति लामिछानेले आफू पार्टी सभापति, मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत लक्ष्य बोकेर राजनीतिमा नआएको स्पष्ट पारे । उनले राजनीतिलाई व्यक्तिगत जीवनी बनाउने माध्यमका रूपमा नहेरेको उल्लेख गर्दै इतिहास निर्माणको यात्रामा आफू अग्रसर रहेको बताए ।

उनले भने, “कसैलाई लाग्ला म पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्न हिँडेको हुँ, तर त्यो पूर्ण भ्रम हो । म जीवनी लेख्न आएको होइन, इतिहास लेख्न आएको हुँ । मलाई जीवनीमा खासै रुचि छैन ।”

लामिछानेले रास्वपा अहिले मुलुकको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्ने मोडमा उभिएको दाबी गरे । उनले पुराना राजनीतिक दलहरूले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेको स्वीकार गर्दै रास्वपाले अपेक्षाकृत सहज परिस्थितिमा जनसमर्थन प्राप्त गरेको बताए । अब त्यो विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

प्रशिक्षण कार्यक्रममा उनले सांसदहरूलाई संसद् र संसदीय समितिमा ‘भाइरल’ बन्ने मानसिकताबाट बाहिर निस्किन आग्रह गरे । समितिहरूमा क्यामरा देख्दा भावनात्मक र उत्तेजित शैलीमा प्रस्तुत हुने प्रवृत्तिप्रति संकेत गर्दै उनले जनताको मुद्दालाई ओझेलमा पार्ने गरी लोकप्रियताको राजनीति नगर्न चेतावनी दिए ।

उनले भने, “क्यामरा देखेपछि बोलेको कुरा मतदातासम्म तुरुन्त पुग्छ भन्ने सोच आउँछ । त्यसले जोस बढाउँछ, रगत तताउँछ । त्यो भावना हो कि अभिनय, छुट्याउने जिम्मा तपाईंकै हो । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ ।”

सभापति लामिछानेले सार्वजनिक चर्चा र सकारात्मक प्रचारप्रति आफू पनि पूर्ण रूपमा निरपेक्ष नरहेको स्वीकार गरे । आफ्नो कामको राम्रो कभरेज होस् भन्ने चाहना स्वाभाविक भए पनि त्यसकै लागि जनताको मुद्दालाई छायामा पार्न नहुने उनको भनाइ थियो ।

उनले सांसदहरूलाई सामाजिक सञ्जाल र चर्चाभन्दा विधेयक, कानुन निर्माण र संसदीय जिम्मेवारीमा केन्द्रित हुन आग्रह गरे । “यसपटक परिणाम दिनैपर्छ,” उनले भने, “लोकप्रियताको आडमा जनताको एजेन्डा हराउने स्थिति आउन दिनु हुँदैन ।”

लामिछानेले पार्टीभित्र पद, जिम्मेवारी र अवसरलाई लिएर असन्तुष्टि राख्ने प्रवृत्तिप्रति पनि असन्तोष व्यक्त गरे । केही नेताहरूले समिति सभापति नपाएको, मन्त्री बन्न नपाएको जस्ता गुनासा गर्ने गरेको उल्लेख गर्दै उनले अहिले व्यक्तिगत योगदानको मूल्य माग्ने समय नभएको बताए ।

उनले आगामी पाँच वर्ष रास्वपाका लागि परीक्षा र काम गर्ने समय भएको उल्लेख गर्दै सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update