नेपाल न्युज प्वाइन्ट डटकम
सरकारी कदमले सुकुम्वासीमा त्रास फैलिएको नेकपाको दाबी

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठकपछि समसामयिक विषयमा १९ बुँदे प्रस्ताव सार्वजनिक गर्दै सरकारका पछिल्ला कदमप्रति आलोचनात्मक धारणा व्यक्त गरेको छ । बैठक सम्पन्न भएपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले प्रस्तावबारे जानकारी दिएका हुन् ।

पार्टीले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनाको अध्ययनका लागि गठित कार्की आयोगको प्रतिवेदन सन्तुलित नभएको निष्कर्ष निकालेको जनाएको छ । प्रतिवेदनमा भदौ २४ गतेको हिंसात्मक घटनाबारे पर्याप्त र निष्पक्ष छानबिन नभएको दाबी गर्दै सो घटनासमेत समेटेर पुनः निष्पक्ष अनुसन्धान गर्न तथा दोषीमाथि पूर्वाग्रहविहीन कारबाही गर्न माग गरिएको छ ।

नेकपाले देशका विभिन्न स्थानमा वास्तविक सुकुम्वासीको पहिचान, पुनर्वास योजना र वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य तीव्र बनाइएकाले हजारौँ नागरिकमा असुरक्षा र त्रासको अवस्था सिर्जना भएको जनाएको छ ।

पार्टीले अशक्त, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न परिवार बढी प्रभावित भएको उल्लेख गरेको छ ।

विस्थापित परिवारहरू जीविकोपार्जन, स्वास्थ्य जोखिम तथा सम्भावित विपद्को मारमा परेको भन्दै संविधानले प्रत्याभूत गरेको आवास अधिकारको सम्मान गर्न सरकारसँग माग गरिएको छ । सुरक्षित बसोबासको तत्काल व्यवस्था गर्न तथा सुकुम्वासी समस्याको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न पार्टीले आग्रह गरेको छ ।

सुशासनको नाममा राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी तथा व्यवसायीमाथि भइरहेको धरपकड र कारबाही अपरिपक्व तथा पूर्वाग्रहयुक्त देखिएको आरोप पनि प्रस्तावमा गरिएको छ । यस्ता कारबाही कानुनसम्मत, निष्पक्ष, पारदर्शी र जबाफदेही ढंगबाट अघि बढाइनुपर्ने नेकपाको माग छ ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि खाना पकाउने ग्यास, सार्वजनिक यातायात, खाद्यान्न, फलफूललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै पार्टीले बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेको छ ।

मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गरी आपूर्ति व्यवस्था सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update