नेपाल न्युज प्वाइन्ट डटकम
नेकपाको महाधिवेशन मंसिरमा, संविधान संशोधनका लागि कार्यदल गठन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाउने निर्णयसमेत गरेको हो ।

निर्धारित कार्यतालिकाअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै संरचनात्मक प्रक्रियाहरू पूरा गर्दै मंसिरमा महाधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ ।

महाधिवेशन तयारीलाई व्यवस्थित बनाउन पार्टीले चरणबद्ध कार्यक्रमसमेत तय गरेको छ । जसअनुसार जेठ मसान्तभित्र संघ, प्रदेश, पालिका, वडा तथा जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गरिनेछ । त्यसपछि असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने र सदस्यता नवीकरण तथा विस्तार अभियान अघि बढाइने कार्यक्रम तय गरिएको छ ।

तल्लो तहका अधिवेशनहरू पनि स्पष्ट कार्यतालिकासहित अघि बढाइएका छन् । भदौ १५ गतेभित्र वडा अधिवेशनहरू सम्पन्न गर्ने, त्यसपछि भदौ मसान्तसम्म पालिका अधिवेशनहरू टुंग्याउने योजना छ । त्यस्तै, असोज मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सक्ने लक्ष्य निर्धारण गरिएको छ । 

पार्टीका एक नेताका अनुसार महाधिवेशनसँग सम्बन्धित कार्यविधि, प्रतिनिधि चयन तथा दस्तावेज तयारीका विषयमा भने पछि छुट्टै निर्णय गरी मातहतका संरचनामा पठाइनेछ ।

यससँगै नेकपाले संविधान संशोधनलाई पनि प्राथमिक एजेन्डाका रूपमा अघि बढाएको छ । सरकारद्वारा संविधान संशोधनका विषयमा विभिन्न दलसँग परामर्श भइरहेका बेला नेकपाले आफ्ना धारणा तय गर्न ११ सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ ।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा, रेखा शर्मा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य रहेका छन् । कार्यदलले पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनका ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update