नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं : नेपाली कांग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ । 

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका थिए । संविधान बनेको १० बर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाइ थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए ।

समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग बृहत् छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा कांग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला कांग्रेसले पनि गृहकार्य सुरु गरेको हो । 

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए । 

उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ । 

कांग्रेसले बनाएको समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरु रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update