काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा प्रतिनिधि पठाउने विषयमा आफ्नो धारणा सरकारसमक्ष पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमार्फत कांग्रेसले कार्यदलको कार्यक्षेत्र, विधि र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको बताएको हो ।
कांग्रेसले संविधान संशोधन अघि व्यापक छलफल र सहमति आवश्यक रहेको उल्लेख गर्दै सरकारको पहललाई स्वागत गरेको छ । साथै, २०७२ सालमा जारी संविधान ऐतिहासिक उपलब्धि भएको स्मरण गर्दै समयानुकूल संशोधन लोकतान्त्रिक प्रक्रिया भएको जनाएको छ ।
पत्रमा कांग्रेसले संविधानका आधारभूत मूल्य–मान्यता जस्तै लोकतन्त्र, संघीयता, गणतन्त्र, मानवअधिकार, समावेशीता र विधिको शासनमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । यद्यपि, संविधानलाई थप प्रभावकारी र समावेशी बनाउन केही संशोधन आवश्यक रहेको पनि जनाएको छ ।
कांग्रेसले कार्यदलको भूमिका, अधिकारक्षेत्र, सहभागितामूलक प्रक्रिया, तथा विभिन्न राजनीतिक दल, समुदाय र तहगत सरकारहरूको सहभागिताबारे सरकार स्पष्ट हुनुपर्ने माग गरेको छ । साथै, सरकार र नेतृत्वकर्ता दलको संविधान संशोधनप्रति प्रतिबद्धता र प्राथमिकताबारे पनि स्पष्ट धारणा आउनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरेपछि मात्र कार्यदलमा सहभागिता प्रभावकारी हुने विश्वास कांग्रेसले व्यक्त गरेको छ । कांग्रेसले संविधान संशोधन प्रक्रियामा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।






