काठमाडौँ : राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र समितिहरूमा दलहरूले आपसी सहमति गरेका छन् ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले ४ समितिमध्ये २ समिति कांग्रेस, १ समिति नेपाली कम्युनिस्ट पार्टी र एक समिति मधेसवादी दललाई दिने सहमति बनेको जानकारी दिए ।
आइतबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरूको बैठकले त्यस्तो सहमति गरेको हो ।
एमालेलाई भने राष्ट्रिय सभाको उपाध्यक्ष दिने सहमति बनेको छ ।
कांग्रेसले आर्थिक मामिला तथा सुशासन समिति र विधायन समितिको सभापति लिनेछ ।
नेपाली कम्युनिस्ट पार्टीले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति लिनेछ ।
त्यस्तै मधेसवादी दलहरूले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिनेछन् ।
राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १०, जनता समाजवादी पार्टी नेपालका ३, राष्ट्रिय जनमोर्चाका १ र मनोनीत २ सांसद छन् ।



