काठमाडौं : सरकारले संघीय र प्रदेश तहका पाँच जना सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा र पदस्थापनसम्बन्धी निर्णय गरेको हो ।
प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा पठाइएको छ । त्यस्तै, बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवको जिम्मेवारी दिइएको छ ।
बराल तुलनात्मक रूपमा कनिष्ठ सचिव भए पनि राजश्व प्रशासनमा उनको अनुभव र सम्बन्धका कारण सो पदका लागि उपयुक्त ठहर गरिएको बताइएको छ । राजश्व क्षेत्रमा बरालको पूर्वसक्रियता र समन्वय क्षमताले पनि उनी फाइदा पाएको अधिकारीहरूले बताएका छन् ।
लामो समयदेखि बढुवा भएर पनि पदस्थापनको पर्खाइमा रहेका अतिरिक्त सचिव कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव बनाइएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा फिर्ता बोलाइएको छ ।
यसैबीच, वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।


