नेपाल न्युज प्वाइन्ट डटकम
तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको उद्धार

काठमाडौं : मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । आज बिहान ६ बजे उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । 

दुई जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र फेला परेको सशस्त्रले जनाएको छ ।

उनीहरू अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारको लागि खटिएको थियो ।

सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका मध्ये एक जना महिला बिरामी छन् । एक जना  पुरुषको खुट्टामा चोट लागेको छ भने सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ ।

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले आज बिहान ११ नेपालीलाई चामेतर्फ ल्याएको छ । चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याममानै बसेका छ्न् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update