नेपाल न्युज प्वाइन्ट डटकम
आफ्नै आँखाले फोक्सुण्डो ताल केलाउँदा

-राजेन्द्र राना

२०८२ असोज २९ गते काठमाडौंबाट पोखरा हुँदै म र प्रिय दाजु दिपेन्द्र पुन बागलुङ हुँदै बुर्तिवाङमा बास बसेर काठमाडौंबाट आएको डोल्पा जाने बसमा बिहान ५ बजे चढ्यौं र डोल्पा लाग्यौं । गाडीभित्र भरिभराउ मान्छे— कोही घुम्न हिँडेको, कोही तिहार मनाउन गाउँ आएको । हामी पनि त्यही गाडीमा उभिएर भिर–पाखा, खोल्चा, कच्ची डर लाग्दा बाटो पार गर्दै आँखा बन्द गरेर रुकुम हुँदै दल्ली, जाजरकोट पुग्यौं र बास बस्यौं ।

3-1761660854.jpg

भोलिपल्ट बाइक लिएर दाजुभाइ ठुली भेरी खोला किनारै–किनारको बाटो—कतै खोला तर्दै, कतै झोलुङ्गे पुल पार गर्दै, बीच–बीचमा ठुली भेरीमा पौडी खेल्दै साँझपख दुनै, अर्थात् डोल्पा जिल्लाको सदरमुकाम पुग्यौं । हाम्रो मित्र प्रिय दाजु (सर) भक्तबहादुर बुढा मगरज्यूले नमस्ते होटलमा हामीलाई बास बसाल्नुभयो । दुनै शहर सुन्दर, सफा, सोच्छ हावाले स्वागत गरिरहेको जस्तो लाग्दै थियो—वाउ फिल भइरहेको थियो । दुनैका खोलाको सुसाइले हामी धेरै हर्षित भयौं ।

0-1761660853.jpg

खोला बगरकै साइडमा हामी खोलाको सुसाइ सुन्दै रातभरी झ्याल खोलेर सुत्यौं । भोलिपल्ट बिहानै उठेर गन्तव्यमा पुग्ने हतार थियो । त्यसैले बिहान ५ बजे उठ्यौं, तयार भयौं र ६ बजे तीन भाइ—भक्त दाजु, दिपेन्द्र दाजु र म—दुनैलाई पछि भेट्ने वाचा गरेर सुलिगाड हुँदै फोक्सुण्डो तालको पदमार्ग सुरु गर्यौं । तालमा पुग्न शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्र पार गर्नुपर्ने रहेछ ।

ठुली भेरी र फोक्सुण्डो खोलाको संगम, कञ्चन पानी, वरिपरि भीमकाय पहाडले सुलिगाडलाई सुन्दर बनाएको रहेछ । फोक्सुण्डो खोलाको किनार हुँदै हामी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय पुग्यौं । राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नेपाली नागरिकले १०० रुपैयाँ, सार्क देशका पर्यटकले १५ सय र अन्य देशका नागरिकले ३ हजार रुपैयाँ तिर्नुपर्ने रहेछ । शुल्क तिरेर प्रवेश अनुमति लिएर सुलिगाडको तिरैतिर खोलाको सुसाइमा नाच्दै, गाउदै, सुसेली हाल्दै हामी कागनी पुग्यौं ।

त्यहाँ हामीले बिहानको नास्ता—अर्गानिक फापर र कोदाको रोटी—खायौं र गन्तव्यतिर लाग्यौं । खोलाको आवाजले मन आनन्दित पार्थ्यो । बाटो तेर्सो भएकाले हिँड्न गाह्रो थिएन । मनमा, मुटुमा तालको तस्बिर झल्किँदा खुट्टा आफैं छिटो–छिटो अगाडि बढ्थे । फोटो खिच्न क्यामराले नै भनिरहेको थियो—"राजेन्द्र, यति सुन्दर प्रकृति तिमीले भोलि बिर्सन सक्छौ, फोटो खिच!" अनि मैले पनि नाइँ नभनी अनगिन्ती फोटो र भिडियो खिचेर मनमा सजाएँ ।

ताल पुग्न निकुञ्जभित्र कहिले खोलाको वारी त कहिले पारि हुँदै उकालो लाग्नुपर्थ्यो । भौगोलिक विकटता भए पनि खोलाको सुसाहट र प्राकृतिक सुन्दरता पदयात्रालाई रोमाञ्चक बनाउँथ्यो । किनारै किनार जंगल र पखेरो पार गर्दै हामी छेप्का पुग्यौं । त्यहाँ खाना खाएर केही बेर आराम गरेर फेरि अघि बढ्यौं । जंगल, भिर, पाखा, किनारको यात्रा पछाडि पार गर्दै हामी यार्ची हुँदै साँझपख तापरिचा पुग्यौं ।

2-1761660854.jpg

तापरिचामा भक्त दाजुको साथी तेजेन्द्र गुरुङ सरको हिमालयन सुइट होटलमा बास बस्यौं । अर्गानिक खाना—आहा! कति मिठो, शब्दमा बयानै गर्न गाह्रो । धन्यवाद तेजेन्द्र सर—हजुरको माया, स्नेह, सत्कार, केयर, आत्मीयता कति मिठो! म्याडम र त्यो क्युट बाबु सम्झँदा अझै मनमा रहन्छ । थकित शरीरलाई विश्राम दिएर भोलिपल्ट बिहानै फापरको रोटी, अचार र त्यो चिया—आहा! कति स्वादिलो र तागतिलो । त्यस चियाले उकालोमा ठुलो साथ दिएको थियो ।

तापरिचामा आम्ची अस्पताल र शे–स्वास्थ्य फोक्सुण्डो चौकी पनि रहेछ, जसले लेक लागेका बिरामीलाई राहत दिन्थ्यो । तापरिचा विद्यालय टासी डी नामक संस्थाले सन् १९९८ देखि व्यवस्थापन गर्दै आएको रहेछ । झोला हामीले त्यही होटेलमा छोड्यौं र बेलुका फर्किने गरी बिहान ७ बजे उठेर यात्रा तय गर्यौं ।

त्यहाँबाट सुलिगाड खोला झोलुङ्गे पुल तरेपछि पुलाम हुँदै उकालो यात्रा सुरु भयो । लामो उकालोपछि फोक्सुण्डो तालबाट झरेको झर्ना आँखाले देख्दा सारा थकान भुलियो । अलिकति भिरसँगै पार गरेपछि प्रकृतिसँग लुकामारी खेल्दै हिँड्दा रिङ्ग्मो गाउँ पुगियो । विशाल फोक्सुण्डो ताल पुग्दा दिउँसोको ११:३० बजिसकेको थियो ।

1-1761660852.jpg

“आहा! कस्तो राम्रो मौसम खुलेको! सारा थकाइ हरायो । यस्तो सुन्दरता देख्दा त...” काठमाडौंदेखि फोक्सुण्डो ताल पुग्दा सारा हिँडाइ भुलिएछ । बादल कतै देखिँदैन, मौसम स्वच्छ । हामीले तालको आडैमा रहेको भ्यू होटलमा झोला बिसायौं । त्यहाँबाट फोक्सुण्डो ताल आँखामा पर्दा स्वर्गको भान हुन्थ्यो—“वाउ! वाउ! वाउ!”

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण यही फोक्सुण्डो ताल रहेछ । ३६११.५ मिटर उचाइमा अवस्थित यो नेपालको सबैभन्दा गहिरो र ठूलो ताल हो । यो तालले आफ्नो रङ परिवर्तन गरिरहन्छ । यसभित्र रहेको अल्गी, झारपात र खनिज पदार्थको हलचलका कारण यसो हुने अनुमान गरिएको छ । यस तालमा कुनै जलचर पाइँदैन रे ।

यो क्षेत्र यसको सुन्दर वनस्पति, जीवजन्तु र आकर्षणका कारण ट्रेकिङ गन्तव्यको रूपमा परिचित छ । यहाँ व्यक्तिगत पदयात्रा रिग्मो वा फोक्सुण्डो तालसम्म मात्र अनुमति छ भने भित्री–डोल्पो क्षेत्रमा बन्देज लगाइएको छ; त्यहाँ सामूहिक पदयात्रा मात्र अनुमति छ ।

6-1761660864.jpg

यो ताल मान्छेको फोक्सो आकारको भएकाले यसलाई “फोक्सुण्डो” भनिएको रहेछ । ताल पुग्ने उपयुक्त समय असोज–कात्तिक नै रहेछ । यहाँको सफा, स्वच्छ, सुन्दर र शान्त वातावरणले मन लोभ्याउँछ । छिनछिनमा रूप बदल्ने तालको पानीले निकै आनन्द दिन्थ्यो ।

“यहाँ आइपुग्ने जो कोही पर्यटक म जस्तै खुसी हुन्छन् होला । यति आनन्द लाग्यो कि लामो दूरी पार गरेर आउँदा छुट्टै मज्जा आयो,” भन्ने भावना मनमा आइरह्यो । यो ताल धर्तीको अनुपम र सुन्दर उपहार हो—जीवनमा एकपटक पुग्नैपर्ने स्वर्गको टुक्रा जस्तो लाग्यो ।

9-1761660869.jpg

भौगोलिक विकटता भए पनि प्राकृतिक सुन्दरता र जैविक विविधताले नै पर्यटक शे–फोक्सुण्डो आइपुग्ने गर्छन् । हामी खाना खाएर फोक्सुण्डो छेउबाट माथि दुई घण्टामा भ्यू–पोइन्ट पुग्यौं । त्यहाँबाट “Y” आकारको ताल र त्यसको रंगसँगै नाच्दै, गाउँदै, फोटो–भिडियो खिच्दै, हाँस्दै रमायौं । फोक्सुण्डो तालको पानीमा खुट्टा डुबाएर रमाउँदै—आँखा नझिम्काई हेरिरहन मन लाग्ने, जति हेरे पनि नथाक्ने त्यो ताललाई हामीले साँझ ४ बजे मन नलागी–नलागी छोडेर फर्कन बाध्य भयौं ।

(मलाई साथ दिने भक्त बुढा मगर, शेरबहादुर पुन तथा दिपेन्द्र दाजु सबैमा विशेष धन्यवाद एवं नमन)

(राना नेपाल न्युज प्वाइन्ट डटकमका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।)

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update