नेपाल न्युज प्वाइन्ट डटकम
पासाङ ल्हामु निकोल निक्की अस्पतालको २०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहणको ३०औं वार्षिकोत्सव र उनको सम्झनामा स्थापना गरिएको पासाङ ल्हामु निकोल निक्की अस्पताल २०औं वर्षमा प्रवेश गरेको अवसरमा लुक्लामा भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत दानियल भेरोनिक मोलीले हिमालयको मुटुमा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पताल स्विस–नेपाली एकताको प्रतीक भएको बताइन् । उनले समुन्द्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाइमा रहेको दुर्गम लुक्लामा अस्पताल २० वर्षदेखि निरन्तर सेवा दिइरहनु उल्लेखनीय उपलब्धि भएको धारणा राखिन् ।

विशिष्ट अतिथि तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीयबासी र बाह्य पर्यटकको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनका अनुसार, “अस्पतालले महिलाको पाठेघरको उपचारदेखि सुत्केरी सेवा, आर्थिक अवस्था कमजोर हुने स्थानीयका लागि निःशुल्क औषधि, साथै पर्वतारोहण र स्कर्टिङमा संलग्न पर्यटकको उपचारमा समेत उल्लेखनीय योगदान दिएको छ ।”

a8888bd3-70b3-434a-8c1e-deffaf869b35-1761483486.jpg
 

अस्पतालकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विजरल्याण्डका दाताद्वय रब र राल्फप्रति आभार व्यक्त गरिन् ।

उनले भनेकी छन्, “रब र राल्फको सहयोगमा ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ स्थापना गरिएको हो, जसअन्तर्गत अस्पतालमा जन्मिएका बालबालिकालाई १० कक्षासम्म अध्ययन गर्न वार्षिक २२० स्विस फ्रान्क बराबरको छात्रवृत्ति दिइन्छ । यो वर्ष २६१ जना बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएका छौँ ।”

अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार, दुई दशकको अवधिमा अस्पतालले करिब ३ लाख बिरामीको उपचार गरेको र करिब १ हजार ५ सय बालबालिका यहीँ जन्मिएको छ ।

उनले भने, “हिमाली भेगमा स्थापना भएको यो अस्पताल अत्याधुनिक प्रविधिसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । साथै आँखा शिविर, हाडजोर्नी उपचार शिविरलगायत स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।”

कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँपालिकाकी उपाध्यक्ष टाशी ल्हामु शेर्पा, पासाङ ल्हामु फाउन्डेसनकी अध्यक्ष तथा स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पा, राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाका भाइ क्याप्टेन आङ गेलु शेर्पा, निकोल निक्की फाउन्डेसनका सदस्य पासाङ ग्याल्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।

स्थानीय महिला समूहले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय परिकारको स्वाद चखाइएको थियो । कार्यक्रममा करिब ५ सय सहभागी रहेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update