नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्रीमा सिफारिस सुनार दुई वटा मुद्दाका फरार अभियुक्त

काठमाडौं : सरकारले आइतबार नियुक्त गर्न लागेका चार मन्त्रीमध्ये एक विवादमा परेका छन् । दलित अभियन्ता खगेन्द्र सुनार दुई वटा मुद्दाका फरार अभियुक्त भएपछि मन्त्रीका लागि गरिएको सिफारिस अन्योलमा परेको छ । सुनारसहित डा सुधा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई दिउँसो २ बजे मन्त्रीको शपथ गराउने तयारी छ ।

नेपाल प्रहरीको अभिलेखमा अभियन्ता सुनार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्त रहेको पाइएको छ । मन्त्री नियुक्त नहुँदै विवादमा परेपछि उनलाई शपथ नखुवाउन राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि दबाब परेको छ ।

सुनारबिरुद्ध जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ पर्न र सजाय भुक्तान गर्न बाँकी देखिएको हो । अदालतले सोही वर्षको २१ मंसिरमा उनलाई पक्राउ गर्न ताकेतासमेत गरेको थियो । त्यस्तै, काभ्रे जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्छ्योट नभएको प्रहरी रेकर्डमा उल्लेख छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा विचाराधीन छ ।

रुकुम पश्चिममा जातीय विभेदका कारण हत्या गरिएको नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसलाको विरोधमा सुनारले अदालतबाहिर हुलहुज्जत र तोडफोडसमेत गरेका थिए । न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपछि अधिवक्ता मनिषा गौतमले मानहानीको मुद्दा हालेकी थिइन् । त्यतिबेला पनि सुनारले गौतमको तस्वीर नै राखेर गालीगलौज गर्दै चरित्र हत्या गर्नेगरी सामाजिक सञ्जालमा लेखेका थिए । असोज ६ गते पेसी तोकिएकोमा अदालत जलेका कारण स्थगित भएको छ । सो मुद्दामा प्रतिवादी सुनारलाई झिकाउने आदेश सपना मल्ल प्रधानको इजलासले दिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update