काठमाडौं : प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरीको हत्या गरेको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्या गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
उनीहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
तीमध्ये काभ्रेको रोशी गाउँपालिका–९ का २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) ले जवान थापाको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी नगरपालिका–१० का २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको प्रमाण फेला परेको अनुसन्धान टोलीको दाबी छ ।
ती चारै जना कर्तव्य ज्यान र आपराधिक उपद्रवको अभियोगमा पुर्पक्षका लागि कारागार पठाइएका छन् ।


