
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार उक्त स्थानबाट रु ३० हजार ९३५ रकम नगद, चार थान मोबाइल फोन, गलैँचा एक थान बरामद गरिएको छ ।
यसैगरी, सोही नगरपालिका–३ देबीस्थानका डम्बर दमाईको घरमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ । उक्त स्थानबाट रु २१ हजार ८७५ नगद, तीन थान मोबाइल फोन, त्रिपाल १ थान बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।