नेपाल न्युज प्वाइन्ट डटकम
हमासद्वारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, शव आजै इजरायललाई बुझाउने

काठमाडौं : प्यालेस्टाइनी समूह हमासले गाजामा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ ।

हमासको सैन्य शाखा अल–कसम ब्रिगेड्सले सोमबार जारी विज्ञप्तिमार्फत विपिन जोशीसहित चार जना बन्धकको मृत्यु भएको जानकारी दिएको हो । समूहले ती सबैका शव इजरायली पक्षलाई आजै हस्तान्तरण गर्ने जनाएको छ ।

बीबीसीका अनुसार हमासले फिर्ता गर्न लागेका मृतकहरूमा गाई इलोज, योसी शाराबी, ड्यानियल पेरेट्ज, र विपिन जोशी रहेका छन् । यो शव हस्तान्तरण प्रक्रिया हालै इजरायल र हमासबीच भएको कैदी विनिमय सम्झौताअन्तर्गत भइरहेको बताइएको छ ।

सम्झौताअनुसार हमासले फेला परेका मृतक बन्धकका अवशेष इजरायललाई फिर्ता गर्नेछ भने इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ ।

यसअघि, हमासले नियन्त्रणमा रहेका २० जना जीवित बन्धकहरूलाई इजरायललाई हस्तान्तरण गरिसकेको थियो । तर समूहको नियन्त्रणमा अझै पनि केही मृतक इजरायली बन्धकका अवशेष रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपाली विद्यार्थी विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए । त्यसयता उनको अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहे पनि हाल मात्रै उनको मृत्युको पुष्टि भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update