नेपाल न्युज प्वाइन्ट डटकम
हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ

काठमाडौं : हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो । हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ ।

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो ।

हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो । तर हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।

जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ) का एक अधिकारीले आइतबार बिहान स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी अब जीवित नरहेको जानकारी दिएका हुन् ।

उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर गरिएको भिडियो सम्मेलनमार्फत दिइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update