
काठमाडौं : गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा पुष्टि गरेको छ ।
इजरायली डिफेन्स फोर्स (आइडीएफ) का एक अधिकारीले आइतबार बिहान स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी अब जीवित नरहेको जानकारी दिएका हुन् ।
उक्त जानकारी इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई जोडेर गरिएको भिडियो सम्मेलनमार्फत दिइएको हो ।
राजदूत पण्डितका अनुसार, आइडीएफले परिवार र दूतावासका प्रतिनिधिहरूको उपस्थितिमा ‘वि हिज नो मोर’ भन्दै विपिनको मृत्युको पुष्टि गरेको हो ।
विपिन जोशी इजरायलमा विद्यार्थीका रूपमा अध्ययनरत रहँदै हमास आक्रमणका क्रममा बेपत्ता भएका थिए । लामो समयदेखि उनीबारे अनिश्चितता रहँदै आएकोमा अब सेनाको औपचारिक घोषणासँगै उनी जीवित नरहेको पुष्टि भएको हो ।