नेपाल न्युज प्वाइन्ट डटकम
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार एक विज्ञप्ति जारी गर्दै महरालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

सिआइबीले २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपमा लुकाएर ल्याइएको ९ किलोग्राम सुन तस्करीको अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा महराको संलग्नता रहेको आरोप छ । अनुसन्धानका क्रममा महराले विमानस्थलका भन्सार अधिकारीहरूलाई सुन छुटाउन बारम्बार दबाब दिएको अभियोग लागेको छ ।

यसअघि २०८० चैतमा पनि महरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । पछिल्लो अनुसन्धानमा चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको नियमित सम्पर्क रहेको कल रेकर्डबाट खुलेको छ । सिआइबीले केही दिनअघि महरासँग बयान लिएको थियो, र थप प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update