नेपाल न्युज प्वाइन्ट डटकम
मेयर बालेन र सुदन गुरुङविरुद्ध नेविसंघको उजुरी

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

नेविसंघले भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मेयर बालेन र सुदनले विद्यार्थीहरूलाई स्कुल-कलेजको पोसाकमै आन्दोलनमा सहभागी गराई मानव ढाल बनाएको, राष्ट्रिय सम्पदा, सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोप लगाएको छ ।

नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले आइतबार ललितपुर जिल्ला प्रहरी परिसरमा उजुरी दिएका हुन् । यद्यपि, प्रहरीले उक्त उजुरी हालसम्म औपचारिक रूपमा दर्ता गरेको छैन ।

नेविसंघका नेता अशोक सिंह विष्टले २४ घण्टाभित्र उजुरी दर्ता गरी मेयर बालेन र सुदनमाथि अनुसन्धान सुरु गर्न प्रहरीसमक्ष माग गरिएको जानकारी दिए । प्रहरीले सरकारी वकिलसँग परामर्श गरेर जवाफ दिने बताएको उनले बताए ।

नेविसंघले यो आन्दोलनमा विद्यार्थीहरूलाई गलत तरिकाले उक्साएको र सम्पत्ति नष्ट गरेको घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update