नेपाल न्युज प्वाइन्ट डटकम
जीवित बन्धकहरूको नयाँ सूचीमा विपिन जोशी पनि समावेश

काठमाडौँ : गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ ।

यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपिन जोशीको नाम पनि उल्लेख गरेको छ । 

शुक्रबारदेखि सुरु भएको युद्ध विरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ । उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका छन् भने २५१ लाई अपहरण गरिएको थियो । युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ। दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास-इजरायल युद्ध विरामसँगै बन्धकहरू रिहा हुँदै छन् । त्यसै क्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिलसमेत गरेको थियो ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्ध विराम योजना प्रस्ताव गरेका थिए । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्ध विराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् । बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update