
काठमाडौं : तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा बल प्रयोग गर्न कुनै आदेश नदिएको स्पष्ट पारेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले भने, “प्रधानमन्त्री वा गृहमन्त्रीले बल प्रयोगको आदेश दिने भन्ने कुरा यस्ता विषयमा लागू हुँदैन । न त प्रधानमन्त्रीज्यूबाट, न त मेरो तर्फबाट कुनै यस्तो आदेश जारी गरिएको थियो ।”
उनले प्रदर्शनका क्रममा भएको जनधनको क्षति, सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडप्रति दु:ख व्यक्त गर्दै तत्कालै गृहमन्त्री पदबाट राजीनामा दिएको स्मरण गरे । “धेरैको ज्यान गयो, सम्पत्तिको नोक्सानी भयो । यो घटनाले मलाई गहिरो दु:ख लागेको छ,” उनले भने ।
लेखकले जेनजी पुस्ताले उठाएका मुद्दाहरूलाई गम्भीरतापूर्वक बुझेर लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिए । “अहिलेको समयमा उत्तेजना, आग्रह, पूर्वाग्रह वा प्रतिशोधबाट माथि उठेर काम गर्नुपर्छ । सबै राजनीतिक दलले जिम्मेवारीपूर्वक विधिको शासन स्थापित गर्न योगदान गर्नुपर्छ,” उनले थपे ।
जेनजी आन्दोलनको पहिलो दिनमै राजीनामा दिएका लेखकले मुलुकलाई सही दिशामा लैजान सबै पक्षले संयम र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए ।